काठमाडौं- नेपालको पहिलो ह्यूमन मिल्क बैंकबाट हालसम्म एक हजार जनाले सेवा लिएका छन्। परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले प्रसूतिपश्चात् आमाहरुबाट खेर जाने दुधलाई संकलन गरी भण्डारण गर्ने लक्ष्यकासाथ ह्यमुन मिल्क बैंकको स्थापना गरेको हो।
मिल्क बैंकमा दूध दान गर्न चाहने आमाहरुको मुख्यतया तीन प्रमुख परीक्षण गरिने अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्। जसमा एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी (भिडिआरएल) र हेपटाइटिस बी सर्फेस एन्टिजेन (एचबीएसजी) लगायतका परीक्षण अनिवार्य गरिएको छ। परिक्षणपछि सुरक्षित तरिकाबाट आमाको दूधमा रहेको पौष्टिक तत्व नष्ट नहुने गरी दूध संकलन तथा भण्डारण गरिन्छ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नै गर्भ परीक्षण गराएर डेलिभरी भएका आमाहरुको सन्तानलाई दूध नपुगेको अवस्थामा यस मिल्क बैंकबाट सेवा लिन सकिन्छ। अस्पतालको वार्डमा डेलिभरी भएका आमाहरुलाई अस्पतालका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरुले दूध बढी भएको अवस्थामा मिल्क बैंकमा दान गर्न सकिने जानकारी दिनहुँजस्तो दिने गर्छन्।
'कुनै पनि रोग नभएका महिलाहरुले हाम्रो मिल्क बैंकमा दुध दान गर्नुहुन्छ, उक्त दूधलाई हामीले पास्चराईज गरेर कीटाणु भए/ नभएको यकिन गरी मिल्क बैंकमा जम्मा गर्ने गर्छौं' डा अधिकारीले भने।
यसरी राखिएको दूध आइसियूमा भर्ना भएका, दूध खुवाउन नसक्ने गरी बिरामी भएका आमाका बच्चा, वार्डमै भएपनि आमाको दूध नआएको अवस्था तथा विभिन्न कारणले दूध खुवाउन नसकेका लागि प्रयोग हुँदै आएको छ।
अहिलेसम्म परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले उपचारका लागि यहाँ आएका बिरामीहरुलाई मात्रै उक्त सेवा दिन सकेको छ।
'अस्पतालमा आएकामध्ये ७० देखि ८० प्रतिशत महिलाहरुलाई मात्रै हामीले यो सेवा दिन सकेका छौं' डा अधिकारी भन्छन्, 'हाम्रो मिल्क बैंकका लागि दाता आमाहरुले जति दिनुपर्ने त्यति दिन नसकेको र दूध संकलन हुन नसकेको कारण अस्पतालमा आएका शत प्रतिशतलाई सेवा दिन सकेका छैनौं।'
हालसम्म मिल्क बैंकमा करिब ६ हजार लिटर दूध संकलन गरिएको छ। हालसम्म १ हजारले मिल्क बैंकबाट सेवा लिएको बृहत स्तनपान व्यवस्थापन केन्द्रकी प्रबन्धक स्मृति पौडेलले बताइन्।
'प्रसूति गृहले सकेसम्म आमाकै दूध प्रयोगका लागि बढावा दिने गरेको छ, यद्यपि विभिन्न कारणवंश आमाको दूध प्राप्त गर्न नसकेको अवस्थामा मिल्क बैंकको सेवा लिन सकिन्छ' उनले भनिन्, 'यसलाई ह्युमन मिल्क बैंक मात्र नभई बृहत स्तनपान व्यवस्थापन केन्द्र भनेर बुझिन्छ।'
मिल्क बैंकले दूध नपाएका बच्चाहरुलाई दूधको व्यवस्थापन गर्ने काम मात्र नभई स्तनपानलाई नै व्यवस्थित गर्ने भएकोले यसलाई बृहत स्तनपान व्यवस्थापन केन्द्र नामाकरण गरिएको हो।
प्रसूति गृहले डेलिभरीपश्चात् आमा बस्ने विभिन्न वार्डहरुमा नै गएर स्तनपान र यसका फाइदाबारे परामर्श नै दिने गरेको छ।
कतिपय अस्पतालहरुले शल्यक्रियाबाट बच्चा जन्मिएपछि आमा र बच्चालाई छुट्याएर राख्ने गरिन्छ। तर प्रसूति गृहमा भने शल्यक्रियाबाट बच्चा जन्मिएको अवस्थामा पनि आमा र बच्चालाई एकै ठाउँमा राख्ने गरिन्छ।
शल्यक्रियाबाट बच्चा जन्मिने दर बढ्दै जाँदा बोतलको दूध खुवाउने आमाहरुको संख्या पनि बढ्दै जाने भएकोले प्रसूती गृहमा यस्तो गरिएको हो। दूध दान गर्नका लागि दाता आमाहरु सकारात्मक रहेका पौडेल बताउँछिन्।
अस्पतालमा आएका बाहेक बाहिरबाट पनि दाता आमाहरुले दूध दान गरेको अवस्थामा अस्पतालका शतप्रतिशत बच्चाहरुलाई यो सुविधा दिन सकिने उनको दाबी छ।
'यसका लागि विदेशमा जस्तै कम्युनिटी डोनेशनको रणनीति अपनाउन आवश्यक छ' उनले भनिन्, 'जुन छिमेकी मुलुक भारतमा पनि छ।'
कुनै पनि प्रकारको इन्फेक्सन नभएका स्वस्थ, दूधबाट सर्न सक्ने कुनै पनि रोग नभएका,एचआईभी, हेपाटाइटिस जस्ता रोग नभएका,स्तन परीक्षणको रिपोर्ट सकारात्मक भएका, क्यान्सरको कुनै पनि उपचार प्रक्रियामा नभएका आमाहरुले दूध दान गर्न सक्दछन्।