पर्सा- पर्सा जिल्लाको संखुवापर्सौनी गाउँपालिकाको वडा नं २ श्रीपुरमा ४४५ जनाको आँखा परिक्षण गर्दा १५८ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ।
नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालको प्राविधिक र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडको आर्थिक सहयोगमा संखुवापर्सौनी गाँउपालिकाको वडा नं २ श्रीपुरमा शनिबार एकदिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर आयोजना गरिएको थियो।
मोतियाबिन्दु देखिएको सबै बिरामीहरुको नेपाल नेत्रज्योति संघ आर.एम केडिया आँखा अस्पतालमा निःशुल्य शल्यक्रि गरिने छ। आर्थिक अभावमा र पहुँचको अभावमा कोहि पनि नागरिक आँखा उपचार सेवाबाट बन्चित नहुन् भन्ने उद्देश्यले नेत्रज्योति संघले विभिन्न स्वदेशी तथा दातृ निकायहरुसंगको सहकार्यमा देशैभरी बार्षिक हजारौ निःशुल्क आँखा शिबिर संचालन गर्दै आइरहेको छ।
छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व अन्तरगत नेत्रज्योतीलाई शिबिर संचालनका लागी आर्थिक सहयोग प्रदान गरेको हो। संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५० भन्दा बढि आँखा उपचार केन्द्र तथा ४४ वटा जिल्ला शाखाहरु मार्फन नेपाली नागरिकहरुलाई सस्तो मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरिरहेको छ।
स्थापना देखि हालसम्म संघले आफ्ना अस्पताल, उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रमहरु मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड २ लाख ८६ हजार ५ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा र ४८ लाख ६७ हजार ७७४ जनाको आँखाको शल्यक्रिया सेवा प्रदान गरिसकेको छ।