काठमाडौं- ग्राण्डी इन्टरनेश्नल हस्पिटलले काठमाडौंको झोरमा शनिबार एक दिने निःशुल्क स्तन क्यान्सर परीक्षण स्वास्थ्य शिविर तथा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।
महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी प्रारम्भिक परीक्षण गर्ने र क्यान्सर हुन नदिने जनचेतना पैदा गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको हो। शिविरमा ३० वर्ष नाघेका एक सय जना महिलाहरुले परीक्षण गराएका थिए।
जसमध्ये १० प्रतिशतमा विस्तृत किसिमको परीक्षण गर्नुपर्ने देखिएको छ। रेडियोलोजिष्ट डा अनामीका झाले स्तन क्यान्सर रोगबाट बच्नका लागि ४० वर्ष माथीका महिलाहरुलाई म्यामोग्राम टेष्ट गरी ढुक्क रहन सुझाव दिइन्।
उनले भनिन्, ‘अक्टुबर महिना ब्रेस्ट क्यान्सरको अवेयरनेसको महिना भएकोले छानेको हो। आजको क्याम्पमा हामिले मुख्यतः ३० वर्ष पूरा गरेका महिलाहरुको स्तन क्यान्सरको लागि स्क्रिनिङ गर्न खोजेको हो। यस्तै शंका लागेकालाई अल्ट्रा साउण्ड पनि गरेका छौं। यस्तै, स्तन क्यान्सर हुन नदिन जनचेतना पनि पैदा गरेका छौँ। त्यो सँगै म्यामोग्राम कहिले गर्ने? अल्ट्रा साउण्ड कहिले गर्ने? आफूलाई स्तन क्यान्सर हुन नदिन के के कुरामा शतर्क हुने भन्ने कुरामा जानकारी गरायौं। हामीले लक्षणको वेट गर्नुपर्दैन। स्क्रिनिङ म्यामोग्राम ४० वर्ष कटेपछि प्रत्येक वर्ष एक पटक गराउनुपर्छ। यस्तो कुराहरु आज हामीले फोकस गरेका हौँ।