काठमाडौं- रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापी सम्बन्धि दुई दिने सम्मेलनमा नेपालमा सुरु भएको छ। ललिपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो।
नेपालमा पहिलोपटक भइरहेको रिजेनेरेटिभ मेडिसिन तथा स्टिम सेल थेरापीसम्बन्धी सम्मेलनले चिकित्सा क्षेत्रमा वैकल्पिक उपचार विधिको विकास हुने विश्वास गरिएको छ।
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रका अनुसार यो चिकित्साशास्त्रको एक विशिष्टीकृत विधा हो। जसले आधुनिक उपचार विधिमा धेरै नै राम्रो नतिजा दिन समेत सफल भएको छ। चिकित्सा विज्ञानमा शल्यक्रिया तथा औषधि सेवन मात्रै नभई उपचारका लागि नयाँ विधिसमेत आवश्यक छ भन्ने जानकारी दिनका लागि रिजेनेरेटिभ मेडिसिन विधिको आवश्यकता रहेको पूर्वसचिव मिश्रको भनाई छ।
यस उपचार विधिले मरिसकेका कोषहरुलाई रिजेनेरेट गराई उक्त कोषहरुलाई वास्तविक रुप दिन सहयोग गर्ने भएकोले यो एकदमै प्रभावकारी उपचार विधि भएको डा मिश्रको दाबी छ। उपचार विधिले पार्किङसज, अल्जामर्स तथा डायबिटिज जस्ता रोगको उपचार गर्छ।
शरीरमा मरिसकेको कोषलाई पुर्नरुत्थान तथा पुर्नत्पादन गराइदिने यस विधालाई नेपालको चिकित्सा शास्त्रमा पनि परिचित गराउनका लागि यो सम्मेलन महत्वपूर्ण रहेको उनी दाबी गर्छन्।
'यस विधिको प्रयोगले नेपालमा पनि विभिन्न रोगहरुको निदान गर्ने मुख्य लक्ष्यका साथ यो सम्मेलन पहिलोपटक नेपालमा गरिएको हो'. उनले भने, 'नेपालको चिकित्सा क्षेत्रमा यो विधि नयाँ भएकोले यसबारे महत्वपूर्ण धारणा राख्नका लागि विभिन्न देशबाट चिकित्सकहरु नेपाल आएका छन्।'
अमेरिकाले चिकित्सा क्षेत्रको अध्ययनका लागि यस विधामा फेलोसिप कार्यक्रमको समेत सुरुवात गरिसकेको डा मिश्र बताउँछन्।
एन्टिबायोटिकको प्रयोग एकदमै बढेको अवस्थामा रिजेनेरेटिभ मेडिसिनलाई विकल्पको रुपमा लिन सकिने डा अजय शाह बताउँछन्। अमेरिका, थाइल्यान्ड, चीन, भारत लगायतका विभिन्न मुलुकहरुमा यस विधिद्वारा उपचार भइरहेको अवस्थामा नेपालको चिकित्सा शास्त्रमा भने यो नयाँ उपचार विधि हो।
यस उपचार विधिबारेको कानुन निर्माणका लागि सरकारसँग विगत पाँच वर्षदेखि लबिङ भइरहेको तर कानुन बनिनसकेको डा शाहले बताए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा समेत यस उपचार विधिबारेको कार्यक्रम गइसकेको र अनुमति लिइसकेपछि यस विधिद्वारा उपचार थालनी गरिने डा शाह बताउँछन्।
यस सम्मेलनमा सहभागिता वक्ताको रुपमा अमेरिका, श्रीलङका, पाकिस्तान, भारत लगायतका मुलुकहरुबाट चिकित्सक आइसकेका छन्। हाल यस विधाका विज्ञहरु नेपालमा नभएकोको अवस्थामा अन्य विधाका चिकित्सकहरुलाई यसबारेको तालिम प्रदान गरिने डा शाहले बताए।