काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित न्याम्सको चौथो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रहसमेत गरे।
यस्तै उनले वीर अस्पताललाई अझै विस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिबद्धता जनाए। उनले नर्सिङ सेवासँग सम्बन्धित देखापरेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको बताए।
उनले संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानुन निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको उल्लेख गरे। संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डले हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको भन्दै राजनीति र जीवन व्यवहार नागरिकको स्वार्थ र हीतमा समर्पित गरेर मात्र लोकतान्त्रिक राज्यको औचित्य पुष्टि हुने दाबी गरे।
गरिब, विपन्न, असहाय एवं उपेक्षित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको अधिकार र अवसरका निम्ति राज्यको जिम्मेवारीमा रहेका सबैले कुशलतापूर्वक आफ्नो भूमिका पूरा गर्नुपर्ने उनको भनाइ थियो।