काठमाडौं– यो वर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्याएका तीन वैज्ञानिकले पाउने भएका छन्। उनीहरूले 'क्वान्टम डट' को खोजी र संश्लेषण गरेका छन्।
नोबेल पुरस्कार समितिले मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभलाई संयुक्त रूपमा रसायन विधामा यो प्रतिष्ठित पुरस्कारबाट सम्मानित गर्ने घोषणा गरेको छ।
'क्वान्टम डट' भनिने सूक्ष्म कणका विशिष्ट गुणहरू हुन्छन् र तिनले अहिले टेलिभिजनको स्क्रीन र एलईडी बत्तीबाट आफ्नो प्रकाश फैलाउँछन्।
तिनले रासायनिक प्रतिक्रियामा उत्प्रेरकको काम गर्छन्। अनि शल्यक्रिया गर्दा तिनको स्पष्ट प्रकाशले ट्यूमरका कोषलाई देखिनेगरी उज्यालो पारिदिन सक्छ। सौर्य प्यानलमा पनि तिनको प्रयोग हुन्छ।
तीनै वैज्ञानिक संयुक्त राज्य अमेरिकामा कार्यरत छन्। बावेन्डी एमआईटीमा, ब्रुस कोलम्बिया यूनिभर्सिटीमा र एकिमोभ न्यानो क्रिस्टल्स टेक्नोलजी इन्कमा कार्यरत छन्।
अलेक्सी रुसी हुन् भने बावेन्डी पेरिसमा जन्मिएका हुन्। ब्रस अमेरिकी हुन्।