काठमाडौं- पछिल्लो समय हरेक दिनजसो चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बाहिर आइरहेका छन्। सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको केही घण्टाभित्र काठमाडौं मेडिकल कलेज, सुलुखुम्बु अस्पताल र भरतपुर अस्पतालमा आक्रमण र दुर्व्यवहारका घटना भएका छन्।
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि किन आक्रमण भइरहेको छ? स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंले चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्राडा जगदीश अग्रवाललाई प्रश्न गरेकी छिन्। चिकित्सा क्षेत्रका विज्ञ डा अग्रवालले चिकित्सकमाथि दिनुहँ आक्रमणका घटना बढ्नुका चार कारण देखेका छन्। प्रस्तुत छ डा अग्रवालले व्यक्त गरेको धारणा उनकै शब्दमा :
डाक्टर र बिरामी पक्षबीच संवाद र विश्वासमा कमी हुँदा यस्ता घटना हुने गर्छ भन्ने मलाई लाग्छ । कानुनी कारबाही कमजोर हुँदा भौतिक आक्रमणमा उत्रनका लागि झनै आक्रमणकारीहरुलाई बल मिलिरहेको छ । मुख्यत यी चार कारणले डाक्टर र बिरामी पक्षबीच द्वन्द्व बढ्ने गरेको देखिन्छ।
पहिलो कारण : चिकित्सक र बिरामी पक्षबीच संवादको कमी
चिकित्सक तथा बिरामी पक्षबीच पर्याप्त संवाद, छलफलको कमीले गर्दा कुटपिट, तोडफोडलगायतका घटनामा कमी आउन नसकेको हो। बिरामी तथा बिरामीका आफन्तहरुलाई उपचार प्रक्रिया , रोग तथा बिरामीको अवस्था लगायत समग्र पक्षमा चिकित्सकले बुझाउन सकेको अवस्थामा चिकित्सक आक्रमणका घटनालाई कम गर्न सकिन्छ । बिरामी पक्ष र चिकित्सकबीच छलफलमा कमी हुँदा चिकित्सक आक्रमणका घटना कम हुन सकेको छैन। बिरामी पक्षले बिरामीका विषयमा धेरैभन्दा धेरै जानकारी लिन खोज्छ। यस्तो अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले उनीहरुलाई पर्याप्त समय दिएर जानकारी दिनुपर्छ।
दोस्रो कारण : कानुनी उपचारमा जाने प्रक्रियाका विषयमा कम जानकारी
यदि उपचार प्रक्रियाका क्रममा दुवै पक्षबाट कमीकमजोरी भए कानुनी उपचारमा जान सकिने ज्ञानमा कमी हुँदा पनि अप्रिय घटना भइरहेका छन्। कुनै घटनाबारे कानुनी उपचारमा जानुको साटो जसले जे गर्दिए पनि हुन्छ भन्ने मानसिकता छ। कानुनको पालना नहुँदा यो समस्या आएको हो। बिरामी पक्षले उपचारमा चित्त नबुझे मेडिकल काउन्सिलदेखि अदालतसम्म जान सक्ने व्यवस्था छ। यस तर्फ धेरैलाई जानकारी नहुँदा पनि समस्या आइरहेको हो कि जस्तो लाग्छ। दुवै पक्षलाई न्यायमा सुनिश्चितता नहुँदा पनि स्वास्थ्यकर्मी र सेवाग्राही पक्षबीच द्वन्द्व भने कायमै रहेको छ । नेपालमा कानुन कार्यान्वयनमा ज्यादै ठूलो समस्या छ । न्याय पाउने सुनिश्चितता नहुँदा पनि यस्तो भएको हो । त्यसले बिरामी पक्ष हात हालिहाल्ने र स्वास्थ्यकर्मी सेवा नै बन्द गर्नुपर्ने अवस्थाको सृजना भएको हो।
तेस्रो कारण : सिमित स्रोतमा धेरै काम गर्नुपर्ने बाध्यता, दोष चिकित्सकलाई!
नेपालमा थोरै जनशक्ति र सिमित स्रोतमा रहेर धेरै काम गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा चिकित्सक र स्वास्थ्यकर्मीले दिन रात नभनी सेवा दिनुपर्ने बाध्यता छ। चिकित्सकले पनि निश्चित उपचार विधीअनुसार बिरामीको उपचार गर्ने हो । नेपालका सबै स्थानमा स्वास्थ्य उपकरण, सामग्रीको पहुँच समान हुँदैन । सबै ठाउँमा समान योग्यता, क्षमता र सीपका स्वास्थ्यकर्मी पनि हुँदैनन् । स्वास्थ्य उपकरण नभएर बिरामीको मृत्यु हुने अन कुटाइ भने चिकित्सक र स्वास्थ्यकर्मीले खानुपर्ने अवस्था छ। सिमित स्रोत हुँदाहुँदै पनि बिरामीको जीवन रक्षाका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यर्कमीहरुले बिरामीलाई बचाउन र निको बनाउन नै खोजिरहेका हुन्छन्। तर उपचारका क्रममा केही तलमाथि हुने बितिकै चिकित्सकलाई नै दोष दिने प्रवृति छ। किन भयो भनेर कारण खोजिँदैन। चिकित्सकलाई दोष दिने मानसिकता र प्रवृत्तिले पनि अन्तरद्वन्द्व बढ्ने गर्छ।
चौथौ कारण : उपचारमा कमीकमजोरी
चिकित्सकबाट पनि कहिलेकाँही भूलवश वा अज्ञानताले पनि उपचारमा कमीकमजोरी हुन सक्छ। तर यो सम्भावना निकै कम हुन्छ। उपचारमा तलमाथि भइहाले दुवै पक्षले कानुनी उपचार रोज्नुपर्ने हुन्छ । कानुनको पालना सबैले गर्नुपर्छ । डाक्टरमाथि पनि केस गर्न सकिन्छ । कुटपिट गरेर ढुंगामुढा समस्याको समाधान हुँदैन।