काठमाडौं– सोमबार दिउँसो गौशालामा पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिकिलदेव सहानी रहेका छन्। घटनापछि ट्याम्पो चढेर भागेका उनलाई सोमबार साँझ पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए।
यस्तै उक्त घटनामा संलग्न अर्का एक जनाको पनि पहिचान भइसकेको थापाले बताएका छन्।
एआईजी थापाका अनुसार उनीहरुबीच करिब एक लाख रकम लेनदेनको विवाद देखिएको छ। सोही लेनदेनका कारण नै हुसेनमाथि आक्रमण भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
उसेनमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु घटनास्थलमै छाडेर आक्रमणकारी भागेका थिए। घाइते हुसेनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ।
गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। बाराको कलैया नगरपालिका–२१ घर भइ हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको छ।