काठमाडौं- डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पहिलो सातामै राम्रो बिक्री भएको छ। पुस्तक बजारमा आएको एक साताको अवधिमा पाँच हजारभन्दा बढी कपी बिक्री भएको प्रकाशन गृहले बताएको छ।
‘जीवन्त सम्बन्ध’ पुस्तक असोज ५ गतेदेखि बजारमा आएको हो। पुस्तकको बजार घटिरहेको समयमा डा अनिलको पुस्तकले राम्रो बजार लिएको हो। सामाजिक सञ्जालमा चर्चा र पाठकबाटै सिफारिस हुन थालेपछि बजारमा डा ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ किताबको माग बढेको पुस्तकको वितरक समीक्षा पब्लिकेसनका मोहन आचार्यले बताएका छन्।
आचार्यका अनुसार पाठकहरूमा पुस्तकप्रतिको उत्सुकता र व्यग्रता फरक किसिमको देखिएको छ। जसका कारण सुस्ताएको नेपाली पुस्तकको बजारलाई ‘जीवन्त सम्बन्ध’ले फेरि गर्माउने संकेत देखिएको छ।
व्यक्ति, परिवार, समाज र राष्ट्रलाई समेट्दै सम्बन्धको महत्व तथा व्यक्तिको दायित्वलाई डा ओममूर्तिले आफ्नै सुख, दुःख र भोगाइका माध्यमबाट किताबमा पस्केका छन्। जसलाई पाठकले रुचिपूर्वक लिएका छन्।
किताबका ‘कन्टेन्ट कोड’ गरी पाठकहरूले टिकटक, इन्स्टाग्राम, फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालहरूमा भिडियो तथा स्टाटस पोस्ट गरिरहेका छन्।
किताबको कन्टेट राम्रो भएकोले खुद्रा ग्राहकलाई छुट नदिँदा पनि बिक्री भएको वितरक समीक्षा पब्लिकेसनको भनाइ छ। पाठक आफैंले ‘माउथ पब्लिसिटी’ गरेकाले देश भित्र र बाहिरबाट पनि पुस्तकको माग भइरहेको समीक्षा पब्लिकेसनले जनाएको छ।
पुस्तकको प्रकाशक ‘डा ओम फाउन्डेसन’ले ‘ज्ञान पनि, दान पनि’ भन्ने स्लोगनमा किताब बजारमा ल्याएको छ। फाउन्डेसनका अनुसार यस पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति खर्च गरिनेछ। डा ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ पुस्तक समीक्षा पब्लिकेसन र अन्य वितरकहरूले देशभरका पुस्तक पसलहरूमा वितरण गर्दै आएका छन्। साथै भाटभटेनीका देशभरका स्टोर, दराज, ई-सेवा र फाउन्डेसनको वेबसाइटमा पनि पुस्तक उपलब्ध छ।