काठमाडौं- काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले आफ्नो अस्पतालमा कार्यरत एक जना इन्टर्न डाक्टरलाई लेखेटी, भुईंमा बेहोस हुनेगरी पछारेर घाइते बनाएको जानकारी दिएको छ।
अस्पताल परिवारका नाममा नेपाल चिकित्सक संघलाई पठाएको पत्रमा ओपीडी ड्यूटीमा कार्यरत इन्टर्न डाक्टरमाथि अराजक व्यक्तिहरुद्वारा कायरतापूर्वक भौतिक आक्रमण गरिएको जानकारी गराइएको छ।
'डाक्टरलाई लखेटी, भुईंमा बेहोस हुने गरी पछारेर, शरीरका विभिन्न भागमा घाउन हुनेगरी घाइते बनाइएको व्यहोरा जनाकारी गराउँदछौं,' संघमा पठाइएको पत्रमा उल्लेख छ।
घटनापछि कलेजसँग आवद्ध इन्टर्न, मेडिकल अफिसर, आवाशीय चिकित्सक तथा सम्पूर्ण मेडिकल विद्यार्थीहरु आन्दोलित भएको उल्लेख गर्दै संघको ऐक्यवद्धताको अपेक्षा समेत उनीहरुले गरेका छन्।
आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो। डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वाथ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
नेफ्रोलोजीको ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ। भीड बढी भयो एकछिन बाहिर जानूस् भन्दा डाक्टरमाथि आक्रमण भएको पाइएको छ।
प्रहरीका अनुसार कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्।