काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा क्यान्सरका बिरामीको संख्या बढ्नुको प्रमुख कारण धूम्रपान भएको बताएका छन्।
भारतको नयाँदिल्लीमा रहेको बैंकटेस हस्पिटलले शुक्रबार राजधानीमा आयोजना गरेको क्यान्सर उपचारमा नयाँ प्रविधि विषयक सीएमई कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्तिजन्य पदार्थको सेवनमा कमी ल्याउन सके क्यान्सर बिरामीको संख्या कम गर्न सकिने बताए।
धूम्रपानको सेवन कम गराउन सरकारले सूर्तिजन्य पदार्थ ऐनको कार्यन्वयनमा जोड दिएको, सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन रोक्ने प्रयास गरिएको र यस्ता वस्तुमा कर बढाइएको उनकाे भनाइ थियाे। क्यान्सरका बिरामीलाई उपचारमा सहुलियत प्रदान गर्न सरकारले प्रत्येक बिरामीलाई एक लाख रुपैयाँ सहयोग गर्ने गरेको र यसले उपचारमा थोरै भए पनि राहत भएको मन्त्री बस्नेतले बताए।
क्यान्सर रोगको उपचारमा नेपालले भारतबाट धेरै कुरा सिक्न बाँकी रहेकोले यस प्रकारका सिकाइका कार्यक्रम लाभदायक हुनेमा उनले जोड दिएका थिए।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्यान्सर रोग विज्ञ डा विनोद अर्यालले नेपालमा हरेक वर्ष २० हजार ५ सय क्यान्सरका नयाँ बिरामी थपिने तथ्यांक प्रस्तुत गर्दै १३ हजारको क्यान्सरकै कारण वर्षेनि मृत्यु भइरहेको बताए।