काठमाडौं- देशभर विभिन्न अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू पाँच दिनदेखि काठमाडाैंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन गरिरहेका छन्। सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो। तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।
पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।
स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका विषयमा गृह मन्त्रालयले घटनाका दोषीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा ल्याइसकेको बताएको छ। गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले दोषीको पहिचान गरी पक्राउ गरिसकेको जानकारी दिए। उनले भने,‘पछिल्लो समय मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका ठाउँमा घटना स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनाहरू घटेका छन्। बिरामीको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तले घटना घटाएको देखिन्छ। हेडौँडाको अस्पतालको विषयमा पहिचान भएका ९ जनामध्ये ६ जनालाई नियन्त्रणमा लिएर तोकिएको ऐनबमोजिम कारबाही अघि बढेको छ।' उनले फरार रहेका तीन जनाको खोजी कार्य जारी रहेकाे बताए।
यसैगरी पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्ने अभिव्युक्तहरू समेत पक्राउ परिसकेकाे बताए। उनले भने, 'उनीहरूमाथि म्याद थप भइ अनुसन्धान भइरहेको छ। सोही घटनामा संलग्न प्रहरी नायव उपरीक्षकलाई हेडक्वाटर बोलाइएको छ भने अर्का एक जना प्रहरी निरीक्षकलाई निलम्बन गरिसकेका छौं।’
उनले स्वास्थ्य संस्था ऐनबमोजिम कारबाही अघि बढाइसकेकाले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएर चिकित्सकलाई काममा फर्किन अनुरोध गरेका छन्। गृह सचिव भट्टराईले स्वास्थ्यकर्मीहरू समेत संवेदनशील बनेर काममा फर्किनुपर्ने बताए।
उनले भने, ‘सडकमा आएर सेवा नै अवरुद्ध गर्नुपर्ने अवस्था छैन। सडकमा आएको ६–८ घण्टाभित्रै माग सम्बाेधन भइसकेकाे छ। घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढिसकेकाे छ। सर्वसाधारणकाे अधिकार हनन हुनेगरी आन्दोलन नहाेस्।’
उनले स्वास्थ्यकर्मीहरूका दीर्घकालीन नीतिगत कुराबाहेक मूलभुत माग पूरा भइसकेका दाबी गरे।
आन्दोलनरत चिकित्सकहरू के भन्छन्?
सडक आन्दोलनको नेतृत्व गरिरहेका डा सन्दीपकुमार उखेडाले स्वास्थ्यकर्मीले उपचारमा लापरबाही नगरेकाे दाबी गरे। उनले भने, ‘पछिल्लो १० दिनमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि चारवटा आक्रमणका घटना घटेका छन। सुरक्षाको प्रत्यानुभूति हुन नसक्दा हामी सडकमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको हो। मणिपाल अस्पतालमा चिकित्सकहरू सरकारी निकाय र भीडबाटै कुटिनु परेको छ।’
चौथो दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै डा उखेडाले बिरामी र उनका आफन्तको आक्रोशका कारणले पनि घटना घटिरहेको टिप्पणी गरे।
स्वास्थ्यकर्मीकाे अल्पज्ञान र लापरबाहीले घटना नघटेकाे दाबी गर्दै उनले भने,‘गल्ती गरेको भए स्वास्थ्यकर्मीहरूलाई समेत कडा कारबाही गर्न अनुरोध छ। भावावेशमा आएर घटनाका दोषीलाई उन्मुक्ति नदिइयोस। भीडलाई निरूत्साह गर्नुपर्छ।’ उनले भिडियोमा देखिएका दोषीहरूलाई तत्काल कारबाही गरे आन्दोलन फिर्ता लिने बताए।
सरकारी,चिकित्सक संघका अध्यक्ष डा समाज गौतमले सरकारले आफूलाई सेवाका लागि गाउँमा खटाएको तर सेवा प्रदान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले भने,‘सडकमा हामीहरू भन्दा पनि सरकार आउनुपर्ने हो। कामका लागि गाउँमा खटाउने, सुरक्षा दिन नसक्ने? ४० वर्षदेखि काम गरिरहेका छौँ। कहिलेकाहीँ त्रुटि हुनसक्छ। भिडियोमा देखिएका दोषीलाई किन पक्राउ गरिन्र?’ उनले सबै डाक्टरहरूलाई संघबाटै खटाउने व्यवस्था गर्न समेत सरकारलाई अनुरोध गरे। साथै उनले स्वास्थ्यकर्मीहरूको दरबन्दीसमेत कम भएका कारण गुणस्तरीय सेवा दिन नसकेको बताए।
कानुन संशोधन गर्न माग
चिकित्सक संघ नेपालका अध्यक्ष अनिलविक्रम कार्कीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन गर्नुपर्ने बताए। उनले भने, 'अहिलेको मौजुदा कानुन संशोधन गर्नुपर्छ। कानुन आफैँमा अपुरो छ। यसले सबैलाई समेटेको छैन।’ उनले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई राजनीतिक संरक्षण भइरहेको बताए। घटनामा राजनीतिक दलका भातृ संगठनहरूको संलग्नता रहेने बताउँदै उनले दाेषीलालाई राजनीतिक संरक्षण गर्न नहुने बताए। उनले चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूले आधारभूत हक अधिकार समेत नपाएको गुनासाे गरे।
चिकित्सकका माग सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन
संसदीय समितिले आन्दोलनरत चिकित्सकहरूका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
उनले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए।
जोशीले भने, ‘चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो। चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित, हिंसारहित बनाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने। चिकित्सकहरू एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत् हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छौं। समितिको तर्फबाट भएका पहलकदमीबारे डा. तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ।’