काठमाडौं- संसदीय समितिले आन्दोलनरत चिकित्सकहरुका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाई निर्वाध रुपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
उनले संसदीय समितिको तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए।
जोशीले भने, ‘चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे बैठकमा सरोकारवाला संघसंस्थाका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो। चिकित्सकमाथि भएको यस प्रकारको दुर्व्यवहारको घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता घटनाप्रति दुःख र खेद प्रकट गर्दै दोषी उपर नियमानुसार कारबाही गर्न र स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित, हिंसारहित बनाई निर्वाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने। चिकित्सकहरू एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान गर्न वार्तामार्फत् हल गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छौं। समितिको तर्फबाट भएका पहलकदमीबारे डा. तोसिमा कार्कीलाई आन्दोलनरत चिकित्सकसँग समन्वय गराउने भन्ने भएको छ।’