काठमाडौं- परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको आइभिएफ सेन्टरबाट डेढ वर्षमा ४० निःसन्तान दम्पतीले सन्तान सुख पाएका छन्। अस्पतालका निर्देशक तथा आइभिएफ रोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारीका अनुसार दैनिक ६० देखि ७० निःसन्तान दम्पतीहरु अस्पतालमा बाँझोपनाको उपचारका लागि आइपुग्ने गर्छन्।
हाल चिकित्सक तथा नर्ससहित ८ जनाको टिमद्वारा प्रसूति गृहको आइभिएफ सेन्टर सञ्चालित छ। उपचारका लागि आउने धेरै जस्तो महिलाहरुलाई जीवनशैली परिवर्तन, खानपानमा परिवर्तन,शारीरिक अभ्यास जस्ता सामान्य औषधिहरुबाट पनि गर्भ बसेको देखिन्छ। उनीहरुमध्ये १० देखि १५ प्रतिशतलाई मात्रै विशेष उपचारको खाँचो पर्ने डा अधिकारी बताउँछन्।
प्रसुति गृहमा आइभिएफ सेवा थालनीको इतिहास
लामो समयदेखि निःसन्तान ओपिडीको माध्यमबाट नि:सन्तान दम्पतीहरुलाई सेवा दिइरहेको यस अस्पतालले विसं २०६३ सालदेखि नि:सन्तानको लागि आयुआई सेवा सुरु गरकोे थियो। विस २०६८ सालदेखि मुलुकभर नै आइभिएफ सेवा अत्यावश्यक देखिएपश्चात् प्रसूति गृहमा पनि यस सेवाको थालनी गरिएको हो।
विसं २०७२ सालमा भूकम्पका कारण भौतिक संरचना भत्किएपछि अस्पतालको आइभिएफ सेवा बन्द भएको थियो। बन्द भएको आइभिएफ सेवालाई विसं २०७८ बाट प्रसूति गृहले कुपण्डोलस्थित आफ्नै भवनबाट पुन: सुचारु गरेको थियो।
आइभिएफ विशेषज्ञको अभावका कारण यस अघि प्रसूति गृहले ब्याचब्याचमा आइभिएफ सेवा प्रदान गर्दै आइरहेकोमा गत महिनादेखि भने अस्पताल आइपुग्नासाथ उपचार प्रक्रिया सुरु गर्ने गरेको निर्देशक डा अधिकारी बताउँछन्।
'उपचारमा क्रममा सुरुवातमा हामीले (आयुआई) अर्थात् इन्ट्रा यूट्राईन इन्सेम्नेसन सेवा प्रदान गर्छाैं, यस प्रविधिमार्फत् यदि कुनै पनि पुरुषको शुक्रकिटको मात्रा कमी भएमा वा महिलाको अण्डा समयमा नबन्ने भएमा महिनावारी गडबडी भएमा अथवा विभिन्न कारणले शुक्रकीट पाठेघरभित्र जान नसक्ने अवस्था भएमा यस प्रविधिबाट सन्तान सुख दिन सकिन्छ' उनले भने।
उनी थप्छन'- उक्त विधिमा पुरुषको शुक्रकिटलाई महिलाको लागि अण्डा बन्ने ट्याब्लेटहरु दिएर अण्डा बनाउने प्रक्रिया सुरु हुन्छ। बेला बेलाबेलामा भिडियो एक्सरे गरेर अण्डा बन्ने वातावरण भए-नभएको निरीक्षण गरी स्वस्थ शुक्रकlटलाई एक प्रविधिको माध्यमबाट पाठेघरमा हाल्ने गर्छाै। प्रसूति गृहमा बाहेक अन्य विभिन्न अस्पतालहरुमा समेत यस विधीको प्रयोग गरेको पाइन्छ। यो सेवा शहरी क्षेत्रमा मात्र नभई दुर दराजमा समेत लैजान पहल भइरहेको छ।'
आइभिएफ सेवालाई देशव्यापी बनाउने योजना
नेपाल सरकारले देशका विभिन्न ४ वटा संघीय अस्पतालहरुमा आयुआई सेवा सञ्चालन गर्ने नीति पनि ल्याइसकेको डा अधिकारी बताउँछन्। त्यसैअनुरुप धनगढी, सुर्खेत, बुटवल र जनकपुरका चारवटा अस्पतालहरुका चिकित्सक, नर्स ,तथा अन्य १ जना गरी तीनजनालाई हालै मात्रै तालिम दिएर पठाइसकेको उनले बताए। त्यहाँ अस्पतालहरुले यसका लागि बजेट समेत छुट्याइसकेको अवस्था छ। यसरी मुलुकका संघीय अस्पतालहरुमा यो सेवा सुचारु हुँदा देशका अन्य अस्पतालहरुमा समेत यो सेवा विस्तार गर्नका लागि सहज हुने उनको विश्वास छ।
हाल संघ अन्तर्गत रहेको नेपाल सरकारको एक मात्र अस्पताल परोपकार तथा प्रसूति रोग अस्पतालमा मात्रै आइभिएफ सेवा सञ्चालित छ। यद्यपि प्रत्येक जिल्ला जिल्लामा आयुआई सेवाको विस्तार गर्ने योजना नेपाल सरकारको छ।
आइभिएफ सेवा हाल प्रसुती गृहले उल्लेखनीय उपलब्धी हांसिल गरिसकेको अवस्था छ। यसका लागि न्याम्स अन्तर्गत आइभिएफ विशेषज्ञका लागि प्रत्येक वर्ष दुई जनाले फेलोसिप गरिरहेका छन्। प्रसूति गृहको ल्याब सुधारका लागि नेपाल सरकारबाट सकारात्मक सहयोग प्राप्त भएको छ। परिवार कल्याण महाशाखा तथा आपूर्ति विभागले प्रसूति गृहलाई विभिन्न प्रकारका उपकरणहरुको व्यवस्था गरिदिएको छ।
हाल प्रसूति गृहमा मात्र केन्द्रीकृत रहेको आइभिएफ सेवालाई जिल्ला जिल्लामा विस्तार गर्न सकेको अवस्थामा कम खर्चमा आफ्नै गृह जिल्लामा निसन्तान दम्पतीहरुले सन्तान सुख प्राप्त गर्न सक्ने अवस्था बन्ने उनको दाबी छ।
नि:सन्तान दम्पतीमध्ये करिब ३ देखी ४ प्रतिशतलाई मात्रै चाहिन्छ आइभिएफ सेवा
उपचारका लागि आउने धेरै जस्तो महिलाहरुलाई जीवनशैली परिवर्तन, खानपानमा परिवर्तन,शारीरिक अभ्यास जस्ता सामान्य औषधिहरुबाट पनि गर्भ बसेको देखिन्छ। उपचारका लागि आएका १० देखि १५ प्रतिशतलाई मात्रै विशेष उपचारको खाँचो पर्ने गर्छ।
करिब ३ देखि ४ प्रतिशत बिरामीहरुलाई आइभिएफ सेवाको आवश्यकता पर्नेगर्छ। ५० देखि ६० प्रतिशत बिरामीहरुलाई खानपान तथा जीवनशैली परिवर्तन, सामान्य औषधि सेवन जस्ता सुधारहरुले नै काम गर्छ। सबै नि:सन्तान महिलाहरुलाई आयुआई तथा आइभिएफ सेवाको आवश्यकता पर्दैन। करिब ७० देखि ८० प्रतिशत नि:सन्तान महिलाहरुको सामान्य उपचारबाट पनि बच्चा बस्ने गर्छ।
निजी अस्पतालको तुलनामा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले दिने आइभिएफ सेवा धेरै सस्तो छ। निजी गर्ने एक तिहाई खर्चले नै प्रसूति गृहमा आइभिएफ सेवा लिन सकिन्छ। सामान्य उपचारका लागि ५० रुपैंयाको टिकटले हुन्छ भने आयुआई सेवा लिनका लागि भने ६ हजार खर्च हुन्छ। जुन निजी अस्पतालमा ४ गुणाले महंगो छ। त्यस्तै आइभिएफ सेवा निजीमा भन्दा तीन गुणाले सस्तो छ।
आइभिएफ सेवाका लागि प्रसूति गृहमा करिब २ लाख खर्च हुन्छ भने निजी अस्पतालमा ६ लाखसम्म खर्च हुन्छ।