काठमाडौं- नेपाल चिकित्सक संघले डाक्टरहरुले उठाएका माग पुरा नभए शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ।
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ लाई लागू गर्दै उठाइएको मागहरू तत्काल सम्बोधन नभएको खण्डमा सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई थप आन्दोलनका कार्यक्रममा अझ शसक्त ढंगले सहभागी हुन समेत अनुरोध गरेको छ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा संघलाई दिईएको जिम्मेवारीलाई गहनताका साथ लिएर उपप्रधान तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री, गृह मन्त्रालयका सचिव तथा पधाधिकारीहरु, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव तथा पधाधिकारीहरु, कानुन मन्त्रालयका सहसचिवहरूसँग चिकित्सक आक्रमण घटनाको विषयलाई लिएर गम्भीर रूपमा छलफल भएको उल्लेख छ।
साथै देशका विभिन्न पछिल्ला घटनाक्रमहरू (हेटौडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, बिराटनगर, बगौडा अस्पताल, चितवन, पाटन) लगायत स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रलाई आतंकित पारी शान्तीपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनालाई लिएर देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा २०८० आश्विन ०९ गते यस संघद्वारा ऐक्यबद्धता जाहेर गरेको
संघले जनाएको छ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिद्वारा गरिएको सम्पूर्ण आन्दोलनका कार्यक्रममा संघद्वारा समन्वयकारी र मध्यस्तकर्ताको भूमिका निर्वाह गरेको समेत उल्लेख छ।