काठमाडौं- अमेरिका-नेपाल चिकित्सा प्रतिष्ठानले डाक्टरमाथि आक्रमणको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
नेपालमा कार्यरत चिकित्सकहरु तथा अन्य स्वास्थ्यकर्मीहरुविरुद्ध शारीरिक आक्रमण र मौखिक दुर्व्यवहार जस्ता बढ्दो हिंसाका घटनाहरुमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानले माग गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले यस सम्बन्धमा नेपाल मेडिकल काउन्सिल तथा अन्य सम्बन्धित निकायहरुलाई नैतिक र न्यायसंगत वातावरणमा अनुसन्धान गर्न गराउनसमेत माग गरेको छ।
'यस्तो हिंसाको नतिजा चिकित्सक समुदाय तथा आम नागरिक दुवैका लागी विनासकारी हुन्छ, जसमा मानसिक स्वास्थ्यमा गम्भीर असर पर्नका साथै शारीरिक चोटपटक लागेर मृत्यु समेत हुन सक्दछ, विज्ञप्तिमा भनिएको छ, 'यस्ता कार्यले कर्तव्य परायण कर्मजीवीहरुमा घोर निराशा ल्याउने र भविष्यमा यसको दुरगामी असर पर्ने निश्चित छ।'