काठमाडौं- स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयबीच कुनै टसल नभएको दाबी गरेका छन्।
राष्ट्रिय बीमा बोर्डले बिहीबार आयोजना गरेको संचारकर्मीसँगको अन्र्तक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य बीमा बोर्डको सम्पर्क तथा अनुगमन गर्ने निकाय हो, मन्त्रालय बोर्डको कामप्रति चित्त नबुझेको अवस्थामा जुनसुकै समय पनि सोधपुछ गर्न सक्छ, त्यसैले यसमा अन्यथा सोच्नु आवश्यक छैन' निर्देशक बसौलाले भने।
उनले मन्त्रालयले बीमा बोर्डलाई आवश्यक ठानेको अवस्थामा जुनसुकै बेला स्पष्टीकरण सोध्न सक्ने स्वीकार गरे। कार्यक्रममा बीमा बोर्ड र यससँग सम्बन्धित पछिल्लो समय उठेका प्रश्नमाथि जवाफ दिदैं उनले भने- 'स्रोत साधनको चरम अभावका बाबजुत पनि ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुग्न सक्नु चान्चुने कुरा होइन, यसलाई हामी सबैले स्वीकार गर्न सक्नुपर्छ।'
उनका अनुसार २०७९ असार मसान्तसम्म कूल बिमितको संख्या २४.५९ प्रतिशत रहेको छ भने नवीकरण गर्ने बिमित ६१.२७ प्रतिशत रहेका छन्। २०८० असोज ४ गतेसम्म ३३.२३ प्रतिशत परिवार स्वास्थ्य बीमा कार्यक्रममा जोडिएका छन्। सोही अवधीमा नवीकरण दर ६० प्रतिशत तथा सेवा उपभोग दर ४५ प्रतिशत उनी बताउँछन्। हालसम्म बीमा बोर्डले सेवा प्रदायकलाई ३४,५७,०६,२८,६९० रकम भुक्तानी गरेको बसौलाले बताए।
स्वास्थ्य बीमा कार्यक्रमप्रति विभिन्न जनगुनासोहरु आएकोमा हाल यस कार्यक्रम सुधारोन्मुख अवस्थामा रहेको बसौलाले बताए। उनका अनुसार बीमा बोर्डले सेवा प्रदायक निकायलाई वैशाखदेखिको दाबी भुक्तानी गर्न बाँकी रहेको छ।
स्वास्थ्य बीमामा बीमितको संख्या बढेको अनुपातमा सेवा प्रदायकको व्यवस्थापकीय सुधारमा कमी, स्वास्थ्य सेवाको अधिक प्रयोग गर्ने मनशाय,औचित्यपूर्ण सेवा लिने, दोहोरो बीमा दर्ता गर्ने, नक्कली सेवाग्राहीको रुपमा सेवा लिने जस्ता समस्या स्वास्थ्य बीमा अन्तर्गत विद्यमान रहेको उनले स्वीकार गरे।
पेश भएको स्थायी कर्मचारी संरचना स्वीकृत हुन ढिला हुनु, आवश्यक संगठन र दक्ष जनशक्तिको अभाव, दाबी परीक्षण र भुक्तानीमा समस्या, गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित नहुनु जस्ता विद्यमान समस्याका कारण स्वास्थ्य बीमा कार्यक्रमले अपेक्षाकृत रुपमा काम गर्न नसकेको उनको दाबी थियो।
उनी भन्छन्- 'बिमा बोर्डका लागि मुलकभर ९१३ जना जनशक्तिको प्रस्ताव गरिएकोमा २५० जनाले सेवा दिइरहेको अवस्था छ।'