भक्तपुर- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पछिल्लो एक महिनामा २८ जना बिरामीमा अंग प्रत्यारोपण गरेको छ। केन्द्रले गत भदौ महिनामा २७ जनाको मिर्गौला र एक जनामा कलेजो प्रत्यारोपण गरेको जनाएको छ।
केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सबै प्रत्यारोपण सफल भएको बताए।
प्रत्यारोपण केन्द्र नेपालमै सबैभन्दा बढी अंग प्रत्यारोपण गराउने केन्द्रको रुपमा दरिएको छ। स्थापनाको ११ वर्षको अवधिमा केन्द्रमा १ हजार १२७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ।
स्थापनाको एक दशक पुरा गरेको प्रत्यारोपण केन्द्र नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने अस्पतालको रुपमा रहेको छ। कार्यकारी निर्देशक डा श्रेष्ठका अनुसार केन्द्रमा विसं २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण भएको थियो।
यस्तै सो केन्द्र मस्तिष्क मृत्यु भएकाबाट अंग झिकी प्रत्यारोपण गराउने पहिलो अस्पतालको रुपमा समेत चिनिएको छ। विसं २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको थियो।
हालसम्म पाँच जना मष्तिष्क मृत्यु भएका व्यक्तिबाट १० जनाको मिर्र्गौला र ३ जनाको कलेजो प्रत्याारोपण गरेको छ। यस्तै परिवारको सदस्यको ग्रुप नमिलेका बिरामीहरुलाई आपसी साटासाट पियर एक्सचेन्ज)बाट प्रत्यारोपण गर्ने मौका दिइएको छ।
हालसम्म ४६ जोडीको पियर एक्सचेन्ज विधिबाट मिर्गौला प्रत्यारोपण भएको निर्देशक डा श्रेष्ठले बताए।
प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नभएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मिर्र्गौला प्रत्यारोपण गर्नका साथै अंगदानसम्बन्धी व्यापक प्रचार प्रसार गरेको तथा देशभरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ।
गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेशको प्रादेशीक अस्पताल सुर्खेतमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ।