अछाम- स्वास्थ्यकर्मीहरूमाथि पटक पटक भइरहेका आक्रमणका घटनालाई लिएर अछामका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।
जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले देशका विभिन्न ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएका कुटपिटका घटनाको विरोधमा आन्दोलनमा उत्रिएका हुन्।
यस्ता खालका घट्ना जुनसुकै बेला जहाँ पनि घट्न सक्ने र आफूहरुले असुरक्षित भएको महसुस गर्दै सबै चिकित्सक र स्वास्थ्यकर्मी विरोधमा उत्रिएको स्वास्थ्यकर्मीले जनाएका छन्। चिकित्सकमाथि हातपात गर्ने, कुटपिट गर्नै र सांघातिक आक्रमण गर्ने दोषीहरुलाई कारबाही नभएसम्म देशैभरका स्वास्थ्य संस्थाहरुमा सार्वजनिक भएका विरोधका कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै अछाममा पनि विरोधका कार्यक्रम गरिएको छ।
देशभर चिकित्सक माथि भएका घट्नाहरुको विरोध गर्दै चिकित्सक र स्वास्थ्यकर्मीहरुको सर्मथनमा अछाम जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा आकस्मिक र प्रसूति बाहेकका सेवा बन्द गरिएको बयालपाटा अस्पतालका चिकित्सक डा बिप्लव श्रेष्ठले बताए।
अर्को सूचना नआउञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको उनले बताए। आन्दालनबाट उत्पन्न हुने सबै परिस्थितीको जिम्मेवार नेपाल सरकार हुनुपर्ने समेत उनीहरुले विज्ञप्तिमार्फत जनाएका छन्।
यसअघि जिल्ला अस्पताल अछामका प्रमुख रबि कुमार यादवको नेतृत्वमा विरोध कार्यक्रम सुरु भई जिल्ला प्रशासन कार्यालय अछाममा बिज्ञप्ति पेश गरिएको थियो।
'यस प्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संसोधन २०७९ बमोजिम कारबाही नगरिनुले हामी चिकित्सक र स्वास्थ्यकर्मी अत्यन्तै असुरक्षित महसुस गरेका छौँ' विज्ञप्तीमा भनिएको छ।
त्यसमाथि घटनाको विरोध गर्दा पोखरामा चिकित्सकमाथि नै भएको लाठीचार्जले थप पिडा दिएको अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेललाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।