काठमाडौं– ‘डाक्टरलाई कुटेर आएँ’ भन्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठ निलम्बित भएका छन्।
कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीको मृत्यु भएपछि आफन्तहरुको आन्दोलनका कारण उत्पन्न स्थिति नियन्त्रणमा लिन घटनास्थल पुगेका इन्सपेक्टर श्रेष्ठले उल्टै डाक्टरलाई कुटेर आएको भन्दै अभिव्यक्ति दिएका थिए।
लापरवाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले डाक्टरमाथि आक्रमण गरेका थिए। डाक्टरमाथि आक्रमण भएपछि अस्पतालका कर्मचारीसहित चिकित्सकहरु पनि विरोधमा उत्रिएका थिए।
विरोधको स्थितिमा दिइएको उक्त अभिव्यक्तिका कै कारण थप छानबिन गर्नुपर्ने भन्दै इन्सपेक्टर श्रेष्ठलाई निलम्बन गरिएको हो।
उपचारका क्रममा लमजुङकी एक महिलाको मणिपाल अस्पतालमा मृत्यु भएपछि उनका आफन्तले डाक्टरमाथि हातपात गरेका थिए। हातपात गरेको आरोपमा एक जना अहिले जिल्ला प्रहरी कास्कीको हिरासतमा छन्।
त्यसैगरी इलाका प्रहरी कार्यालय बैदामका डीएसपी वेद प्रकाश जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्की तानिएको छ।