काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्दै सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्।
पछिल्लो समय डाक्टरहरुमाथि हातपात दुर्व्यवहार भएका समाचारहरु आइरहेको विषय उल्लेख गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अनुरोध गरेका हुन्। उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको उल्लेख गर्दै दुर्व्यवहार बन्द गर्न आग्रह गरेका हुन्।
'मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ - डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं,' पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लेखेका छन्।
डाक्टर र स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएपछि केही दिनदेखि देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन्।