काठमाडौं– पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।
चिकित्सकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका पोखरा महानगरपालिका–५ मालेपाटनका बिनय गुरुङलाई मंगलबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेको थियो।
अदालतले उनीमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
अस्पतालमा उपचारका लागि भर्ना भएकी लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमायाया दुराको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका थिए।
चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विरोधमा उत्रिएका आफन्तले अस्पतालमा तोडफो गर्नुका साथै चिकित्सकमाथि हातपात समेत गरेको प्रहरीले जनाएको छ।
चिकित्सकका तर्फबाट आन्दोलनमा उत्रिएर होहल्ला तथा नाराबाजी गरेको आरोपमा प्रहरीले फिस्टेल अस्पतालमा कार्यरत डा दिनेश कुमार विकलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो। डा विकलाई भने रिहा गरिएको छ।