पोखरा- चिकित्सकमाथि हातपातका घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा दीपक कोइरालाले राजीनामा दिएका छन्।
मंगलबार उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको प्रधानमन्त्री र गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले भनेका छन्, 'आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा चिकित्सकले पिटाइ खाइरहेको, उल्टो गुण्डागर्दी गर्ने जोगाएर चिकित्सकले लाठी खानुपरेको कुरा मलाई सह्य भएन।'
त्यसैमाथि बिना आरोप गण्डकी प्रदेश प्रगतिशील चिकित्सक संघका अध्यक्षलाई हिरासतमा लिइएको बताउँदै चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्ने कडा कानुन नबनेसम्म पार्टी त्यागेको घोषणा गरेका छन्।
मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामीको मृत्यु भएपछि चिकित्सक पिटिएका थिए। त्यसपछि पोखराका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेशमा कार्यरत डा कोइरालाले २०६३ सालदेखिको पार्टी आबद्धता त्यागेको बताएका हुन्।