मुगु- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्फ्रेन्स गरेर फर्किने क्रममा १६ जना चिकित्सक मुगुमा अलपत्र परेका छन्।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूका कारण उनीहरु त्यहाँ अलपत्र परेका हुन्।
उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिएका छन्।
आफूहरु १६ जना भएकाले केही मात्रै नजाने भनिएपछि छाडेर समिट एअरको जहाज उडेको उनले बताए।
माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्केका छन्। डा लामिछानेले भने, 'एकाएक नेताहरुका लागि सिट चाहिने भएकाले सबैलाई लिन नसकिने जानकारी आएपछि हामी कोही पनि जहाजमा चढेका छैनौं। सबै यहीँ अलपत्र अवस्थामा छौं।'
चिकित्सकहरुको समूहले दुई हप्ताअघि नै आउने-जाने टिकट लिएको थियो। उक्त टोलीमा डा विमल पाण्डे, डा व्यापक पौडेल, डा सुरज बज्राचार्य, डा गौरव ढकाललगायत रहेका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले चिकित्सकको टोली त्यहाँ रोकिनु दुखद् भएको बताए। उनले भने, 'आफूलाई पर्दा उहाँहरु (विशेषज्ञ चिकित्सक)को समय मिलाइदिन हामीलाई फोन गर्नुहुन्छ। अहिले उहाँहरुलाई रोकेर नेताहरु आउनु राम्रो भएन।'