काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन्।
विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फर्मसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधारको प्रयासका लागि निर्देशनसमेत दिए।
‘अनुगमनका क्रममा धेरै ठाउँमा फार्मसीले दिएको सेवामा औषधि होइन, विषादी दिइरहेको पायौँ। अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार सुधार भएको छैन। कारबाहीको प्रक्रिया निरन्तर अघि बढेको छ’, उनले भने। उनले फार्मसी सेवालाई गुणस्तरीय बनाउन फार्मसिष्ट आग्रह गरे।
‘केही फार्मसिष्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिष्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ। चिकित्सकको सिफारिस बिना लागूऔषध पनि वितरण भइरहेको छ। यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ’, उनले भने।
उनले फार्मसीको सङ्ख्या अनुसार फार्मसिष्ट परिचालन नभएको बताए। कार्यक्रममा मन्त्री बस्नेतलाई सङ्घले फार्मेसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो।
सङ्घका उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे।