धनगढी– आइतबार रातिदेखि जारी वर्षाका कारण सुदूरपश्चिका तराईका जिल्लाहरु जलगमग्न भएका छन्। कैलाली सदरमुकाम धनगढीका केही ठाउँमा डुवान भएको छ।
धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, ३ र ४ मा डुवान भएको छ। अविरल वर्षाका कारण जलसतह बढेपछि आवतजावतमा समस्या भएको छ।
वर्षाका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पताल क्षेत्र पनि डुवानमा परेको छ। अस्पतालको वार्ड भित्रै बाढी पसेको छ।
अस्पतालको प्रसूति वार्ड र अपरेशन कक्षमा बाढी पसेको छ। वार्डहरुमा बाढी पसेपछि बिरामीलाई सास्ती भएको छ।
बाढीका कारण धनगढी बजारको मूख्य सडक क्षेत्र पनि डुवानमा परेको छ। निर्माण तथा विस्तारको काम भइरहेको सडकमा पानीको निकास नहुँदा वरपरका पसल तथा घरमा बाढी पसेको छ।