काठमाडौं- दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘जेरियाट्रिक’ विषयको अध्यापन गर्ने तयारी गरेको छ। ज्येष्ठ नागरिक रोग विशेषज्ञ स्वदेशमै उत्पादन गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रतिष्ठानले उक्त विषय अध्ययनका लागि पाठ्यक्रम तयार गरेको आज (शुक्रबार) एक कार्यक्रममाबीच जानकारी दिइएको हो।
प्रतिष्ठानका निर्देशक एवं ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलले नेपालमा हालसम्म नेपालमा जेरियाट्रिक विषयमा ‘एमडी र फेलो’ कार्यक्रम नरहेको अवस्थामा राप्तीले पहिलो पटक जेरियाट्रिक विषय अध्यापन गराउन लागेको जानकारी दिए।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले ज्येष्ठ नागरिकहरुलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि चिकित्सा शिक्षा ऐनमा भएका नराम्रा पक्षहरुलाई संशोधन गर्न आवश्यक रहेको बताए।
उनले स्वास्थ्य र शिक्षालाई जनताको आधारभूत आवश्यकता मात्र नभई मौलिक हकसँग जोडिएको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सरकार क्रियाशील रहेको बताए।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छाले आधारभूत स्वास्थ्य सेवामा ज्येष्ठ नागरिक स्वास्थ्य सेवालाई समावेश गर्नुपर्ने बताए। उनले विकसित मुलुकमा ज्येष्ठ नागरिकलाई प्रदान गरिने स्वास्थ्य सेवा गुणस्तरीय भएको उल्लेख गरे।
'भारत र चीनमा ज्येष्ठ नागरिकको संख्या धेरै छ, यद्यपि त्यहाँ ज्येष्ठ नागरिकहरुलाई प्रदान गरिने स्वास्थ्य सेवा नेपालको भन्दा व्यवस्थित छ' उनले भने।
पछिल्लो समयमा नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको छ। ज्येष्ठ नागरिकको सङ्ख्याको तुलनामा विषेशज्ञ चिकित्सिकको सङ्ख्या भने अत्यन्त न्यून रहेको छ। नेपाल मेडिकल काउन्सिलमा जम्मा आठ जना ज्येष्ठ नागरिक रोग विशेषज्ञ दर्ता भएका छन्। नेपालमा कार्यरत जेरियाट्रिक चिकित्सकको सङ्ख्या तीन जनामा मात्र रहेको छ।