काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमाका बारेमा मुलुकभरबाट आफूसमक्ष गुनासो आएको बताएका छन्।
बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
उनले आफ्नो कार्यकाललाई स्वास्थ्य क्षेत्र सुधारको एक अवसरको रुपमा लिएको समेत दाबी गरे।
'स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारी अस्पतालका सेवा सुविधालाई गुणस्तरीय बनाउनतर्फ अग्रसर भएको छुुुु' स्वास्थ्यमन्त्री बस्नेतले भने।
आफूले स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेसँगै विस्तारै निजी अस्पतालमा बिरामीको संख्या घटेको उनको दाबी थियो। 'हाल मुलुकभरका निजी अस्पतालमा बिरामी संख्या ४० प्रतिशतले घटेको छ' उनले भने।
नेपालको सबैभन्दा जेठो तथा केन्द्रीय अस्पताल वीरबाट प्राप्त हुने स्वास्थ्य सेवामा पनि गुणस्तरीयता थपिने तथा सुधार हुने कार्य जारी रहेको उनको भनाइ थियो।
सरकारी स्वास्थ्य सेवामा गुणस्तरीयता बढ्दै जानु तथा सुधार भएकोले निजी अस्पतालमा बिरामी संख्या घटेको गुनासो निजी अस्पताल सञ्चालकले नै गरेको उनले दाबी गरे।
'निजी अस्पताल सञ्चालकहरुले मलाई दिएको जानकारी अनुसार निजी अस्पतालमा आउने बिरामी संख्यामा ४० प्रतिशतले कमी आएको छ' मन्त्री बस्नेतले भने।
‘वीरमा बिहान ८ बजेदेखि नै ओपीडी सेवा सुरु भएको छ, अन्य अस्पतालका सेवामा पनि राम्रो हुँदै गएको छ, यसले पनि निजी अस्पतालमा जाने बिरामी संख्यामा कमी आएको छ' उनले भने।