काठमाडौं- आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच हेटौंडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको छ।
स्वास्थ्य मन्त्रालयमा आइतबार भएको वार्तामा यस्तो सहमति भएको होे। वार्तामा दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएको वार्तामा सहभागि एक सदस्यले स्वास्थ्यखबरलाई जानकारी दिए।
सहमतिका अन्य बुँदामा हस्ताक्षर हुँदैछ।
घटनामा संलग्न ४ जना यसअघि नै पक्राउ परेका छन् भने पाँच जनालाई पक्राउ पुर्जी जारी भएको छ।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।
चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले वार्ता टोली गठन गरेको थियो।