ताप्लेजुङ– ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् । प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो ।
आइसीयू सेवा सञ्चालनका लागि आवश्यक संरचना तयार भए पनि प्राविधिक जनशक्ति नहुँदा करिब तीन वर्षदेखि उपकरण प्रयोगविहीन बनेको हो । कोभिड महामारीका बेला करोडौँ खर्चिएर उपकरण व्यवस्थापन गरिएको थियो । फुङ्लिङ नगरपालिका–५ का विक्रम लिम्बूले जिल्लामै आइसीयूका लागि उपकरण उपलब्ध भएर पनि सञ्चालनमा नआउँदा सेवाग्राहीलाई समस्या परेको बताए।
२०७८ साल कात्तिकमा अस्पतालमा ७१ लाख ५० हजारको लागतमा अक्सिजन प्लान्ट जडान र पाँच करोडमा सघन उपचारकक्ष शय्या (बेड) स्थापना भएको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ । जिल्ला अस्पतालमा आइसीयू सञ्चालनमा रहेको भए महामारीमात्र नभई अन्य सिकिस्त तथा गम्भीर प्रकृतिका बिरामीका लागि ठूलो राहत पुग्ने उहाँले बताउनुभयो । आइसीयू उपकरण भएर पनि सञ्चालनमा नआएका कारण सुविधाबाट बञ्चित हुनु भनेको दुर्गम हिमाली जिल्लाका सेवाग्राहीका लागि दुःखद् अवस्था भएको उहाँको भनाइ छ ।
प्राविधिक जनशक्ति अभावकै कारण आइसीयू सञ्चालनमा नआएको जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए। उनका अनुसार बालबालिकाका लागि मात्र प्रयोग गर्न मिल्ने उपकरण भएको र उपलब्ध उपकरण प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको हो । पछिल्लो समय जिल्ला अस्पतालमा आवश्यकता परे उपकरण सञ्चालन गर्न सक्ने दक्ष चिकित्सक उपलब्ध भए पनि उपकरण चलाउन अर्थात् आइसीयू सञ्चालनमा ल्याउनका लागि प्राविधिक जनशक्तिकै आवश्यक हुने उनले बताए।
आइसीयू सेवा अभावकै सेवाग्राही जिल्ला बाहिर जानुपर्ने बाध्यता एवं कतिपयले ज्यानसमेत गुमाउनुपरेको बताइएको छ ।