विराटनगर- नेपालमा पछिल्लो समय क्यान्सर बढ्दै गइरहेको भन्दै त्यसको रोकथाम, प्रारम्भिक पहिचान तथा न्यूनिकरणका लागि दुई दिने प्रिभेन्टिभ अंकोलोजी कार्यशालाको आयोजना गरिएको छ।
नेप्लिज सोसाइटी फर प्राइमरी केयरले विराट मेडिकल कलेजको शिक्षण अस्पतालसँगको सहकार्यमा उक्त कार्यशालाको आयोजना गरेको हो।
प्राइमरी केयर फिजिसिएन तथा सामुदायिक चिकित्सकलाई क्यान्सर रोगको प्रारम्भिक पहिचान तथा क्यान्सर रोग रोकथाम सम्बन्धी आवश्कय सीप तथा ज्ञान दिने उद्देश्यका साथ कार्यशालाको आयोजना गरिएको सोसाइटीकी अध्यक्ष डा बेबी भगतले जानकारी दिइन्।
विराटनगर, धरान र काठमाडौंका क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा भदौ २९ गते देखी संचालन गरिएको उक्त कार्यशाला ३० गते शनिबारका दिन समापन गरिएको जानकारी आयोजक सचिव डा पार्थ गुरागाईंले जानकारी दिए।
करीब ६० जना प्राइमरी केयर फिजिसियन तथा सामुदायिक चिकित्सकको सहभागिता रहेको उक्त कार्यशालामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मुखको क्यान्सर तथा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने क्यानसर बारे प्रशिक्षण गरिएको सोसाइटीकी पाठ्यक्रम निर्देशक तथा विराट मेडिकल कालेजकी क्यान्सर रोग विशेषज्ञ डा अस्मिता रायमाझीले जानकारी दिइन्।
लगभग ५० प्रतिसत क्यान्सर सुर्तीजन्य पदार्थको सेवन, खानपानको गड्बडी, मदिरा सेवन, मोटोपन लगायत रोकथाम गर्न सकिने कारणले हुने भएकोले सरकारले प्रिभेन्टिभ अंकोलोजीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा डा पार्थ गुरागाईंले व्यक्त गरे।
कार्यशालामा धरानबाट डा सारदा खड्का र डा रमेश श्रेष्ठ , चितवनबाट डा अनिल कार्की, कोशीबाट डा सुलभ सपकोटा, डा मोना प्रियदर्शिनी, डा शिवराज शर्मा, डा विवेक घोषले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
डा हेमसागर रिमालद्वारा उद्घाटन भएको उक्त कार्यक्रम नेपाल मेडिकल काउन्सिलका सदस्य डा हुलास अग्रवाल र नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीको उपस्तिथिमा समापन भएको छ।