काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल हिरासतमा लिएर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।
उनले संसदबाट पारित स्वास्थ्य संस्थासम्बन्धी ऐन अनुसार घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए। नागरिकलाई स्वास्थ्य संस्थाप्रति विश्वस्त बनाउन र स्वास्थ्यकर्मीहरुलाई पनि आफ्नो सुरक्षाप्रति विश्वस्त गराउन पनि सरकारले मकवानपुर घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उनको भनाइ थियो।
सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि बुधबार अस्पतालभित्रै आक्रमण भएको थियो। गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्टमाथि शंका लाग्यो र उनीहरूले अन्यत्र लैजाने भनेपछि अस्पतालले २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरेको थियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो।
सञ्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने भएको आरोप मृतकका परिवारको छ।