टोकियो- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको ग्लोबल हेल्थ कमिटीले आयोजना गर्दै आएको 'ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स' जापानको टोकियोमा सुरु भएको छ। भदौ २९ देखि जापानको टोकियोमा कार्यक्रम सुरु भएको हो।
हेल्थ कन्फ्रेन्सको पाँचौं संस्करणको मुख्य अजेन्डा आप्रवासी नेपालीको स्वास्थ्य रहेको छ। विश्वभर रहेका ८० लाख भन्दा बढी नेपालीको स्वास्थ्यमा सुनिश्चितता खोज्न कन्फ्रेन्सले बाटो तय गर्ने हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए।
उनले भने, 'हामीले यसको सुरुवात गरेका छौं। विषय एनआरएनएको मात्रै नभइ नेपाल सरकार र अन्य देशका सरकारको सरोकारको विषय हो।'
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि जापानी राजदूत दुर्गाबहादुर सुवेदीले स्वास्थ्यमा सर्वव्यापी पहुँचका विषयमा यथेस्ट संवाद जरुरी भएको बताए। विशेषगरी जापानमा बस्ने आप्रवासी नेपालीहरुको स्वास्थ्यका विषयमा दूतावास गम्भीर रहेको बताए।
जापानमा विद्यार्थी तेस्रो धेरै र नेपाली समुदायको संख्याले छैटौं रहेको बताउँदै जापान र नेपाल सरकारले उनीहरुको स्वास्थ्य सेवा सुनिश्चितताका लागि पहल गर्ने उल्लेख गरे ।
यसैगरी अतिथि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष बद्री केसीले आप्रवासीको मात्र नभइ नेपालको स्वास्थ्य क्षेत्रमै आफूहरुले योगदान दिइरहेको उल्लेख गरे। कोभिडको समयमा नेपाल सरकारको पहलबाट सम्भव नभइरहेको अक्सिजन प्लान्टदेखि पीसीआरसम्म आफूहरुले उपलब्ध गराउन सकेको बताए।
जापानमा कार्यरत न्युरोलोजिस्ट डा लुसुन चालिसेले जापानमा रहने नेपाली चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी संगठित हुन खोजिरहेको बताए। अहिले पनि सहयोग गरिरहेको बताउँदै संगठित रुपमा नै काम गर्नुपर्ने आवश्यकता बोध भएको उनको भनाइ थियो।
युकेमा कार्यरता डा सुनिल साहले यो कन्फ्रेन्स आप्रवासीको स्वास्थ्यमा साझा धारणा बनाउने प्लेटफर्म बन्ने विश्वास रहेको बताए। जापानमा हुने बहश र जारी हुने घोषणा पत्रले आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
सम्मेलनमा विश्वका विभिन्न देशमा रहेको स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरु चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी, स्वास्थ्यकर्मी, वैज्ञानिक, सरोकारवाला संस्थाका प्रतिनिधि र अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहभागिता रहेको छ। आप्रवासीको स्वास्थ्यमा काम गरिरहेका जापानस्थित संघसंस्थाहरु पनि सहभागी छन्।
कार्यक्रममा साइन्टिक पेपर प्रिजेन्टेसन, वर्कसप, सीप विकास कार्यक्रम, नीतिगत छलफल, घोषणालगायत हुने आयोजक कमिटीकी अध्यक्ष डा एलिजा केसी भण्डारीले बताएकी छन् ।
उनले भनिन्, 'कार्यशालाले स्वास्थ्य क्षेत्रमा रहेका सवैलाई एकले ठाउँ ल्याएर नेपाल बाहिर रहेका नेपालीहरुको स्वास्थ्यका विषयमा संवाद गर्नेछ र निष्कर्ष निकाल्नेछ।'
यसपल्ट कार्यशालाको मुख्य थिम 'माइग्र्यान्टस् हेल्थ म्याटर्स, युनिभर्सल हेल्थ केयर फर अल' राख्नुको कारण आप्रवासीहरुको स्वास्थ्य र स्वास्थ्य उपचारमा केन्द्रित हुन खोजिएको डा भण्डारीको भनाइ छ।
कार्यक्रममा एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटा, एनआरएनए ग्लोबल हेल्थ कमिटीका उपाध्यक्ष तथा आयोजक कमिटी अध्यक्ष डा एलिजा केसी भण्डारी (जापान), साइन्टिफिक कमिटी अध्यक्षमा डा लुशुन चालिसे, सह-अध्यक्षमा डा सागर पौडेल, डा प्रकाश श्रेष्ठ अमेरिकन रिजन हेल्थ टिम, अनिशा भण्डारी, पब्लिक हेल्थ ग्र्याजुएट शिवप्रसाद पौडेल, पूर्व अध्यक्ष एनआरएनए जापान, नेहा शर्मा नर्स अमेरिका, अर्जुन बगाले आयोजक कमिटी सचिव रहेका छन्।
यसैगरी साइन्टिफिक कमिटी मेम्बरमा सुवास अधिकारी, डा सुमन श्रेष्ठ, डा सन्तोष श्रेष्ठ, डा मेलिसा रन्जित, सुजाता अधिकारी र डा विकास लम्साल रहेका छन्। कार्यक्रम समितिका सह-अध्यक्षमा डा सन्दिप शाक्य, कार्यक्रम समितिमा डा सुप्रिया शाक्य र डा ससीम पौडेल रहेका छन्।