काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले छानबिन समितिले अस्पतालको कमजोरी भएको प्रतिवेदन दिएको जानकारी दिए।
कान्तिमा भदौ १८ पाँच वर्षीय बालिका गोपालीको निधन भएको थियो। उक्त निधनमा आकस्मिक कक्षमा लापरवाही गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।
‘घटना सार्वजनिक भए लगत्तै पाँच दिनको समय दिएर तीन सदस्य छानबिन समिति गठन भएको थियो,’ प्रधानमन्त्रीले भने, ‘उक्त छानबिन समितिले अस्पतालको आकस्मिक कक्षमा खटिएका व्यक्तिबाट जुन प्रकारको संवेदनशीलता देखाउनुपर्ने थियो त्यो नदेखाएको देखिएको ठहर गरेको छ।’
उनले यसमा कसैको दोष भएमा कारबाही पनि हुने बताए। यो घटनाबाट पाठ सिक्दै तत्काल सुधारको बाटो अपनाउनुपर्ने भनाइ उनको थियो। विगतमै अस्पतालले आफ्नो कमजोरीहरूको बारेमा जानकारी गराएको तर त्यसको व्यवस्थापन हुन नसकेको पनि उनले बताए।
घटना हुनुमा व्यवस्थापिक कमजोरी नै जिम्मेवार रहेको निष्कर्ष समितिले निकालेको बताउँदै उनले आवश्यक सुधारका लागि तत्काल पहल हुने जानकारी दिए। तत्काल सुधार सुरु गरिने र र तालुक निकायको सहयोग अपेक्षा प्रतिवेदनमा गरेकाले त्यसमा पनि सरकारले काम गर्ने उनले बताए।