खाँदबारी (सङ्खुवासभा)- सङ्खुवासभामा डेंगु संक्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ। जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो।
रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो। यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए। यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ। हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो।
सङ्खुवासभामा साउनयता डेङ्गु सङ्कमितको सङ्ख्या छ सय २५ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेंगु संक्रमण फैलिएको छ। “भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्”, उनले भने। सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन्। रासस