काठमाडौं- नेपालमा पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनाहरु बढ्दै गएका छन्।
खासगरी उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गर्ने आक्रमणका घटना बढ्न थालेका छन्।
पछिल्लोपटक हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टरहरुमाथ पनि त्यस्तै आक्रमण भएको छ।
अस्पतालका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको छ। विभिन्न संघसंगठनले उक्त घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्।
के छ कानुनी व्यवस्था?
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
उक्त नयाँ ऐनमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिक रुपमा चोट पुर्याउनेलाई पनि पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था गरिएको छ।
यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने भनिएको छ।
यदी यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।