काठमाडौं- नेपाल प्रगतिशिल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ। एक विज्ञप्ति जारी गर्दै संघले दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्न माग गरेको छ।
'प्रहरी प्रशासन स्वयं उल्टै आक्रमणकारीको संरक्षणमा लागेको जस्तो देखिन आएकाले गृह मन्त्रालय समक्ष तत्काल यस घटनाको गम्भीर छानबिन गरी आक्रमणकारीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षा ऐन, २०६६ तथा २०७९ को संशोधन अनुसार कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछ' विज्ञप्तिमा भनिएको छ, 'उक्त सुरक्षा ऐन अनुसार सुरक्षाको समन्वय गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको भएकाले तत्काल सो अनुसार सुरक्षा परिचालनको समन्वय गरी घाइते चिकित्सकहरूको उपचार र सुरक्षाको प्रत्याभूति र आक्रमणकारीहरुलाई कानूनको दायरामा ल्याउने कार्यको समन्वय गर्न समेत हाम्रो संगठन जोडदार माग गर्दछ।'
हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि ड्युटीमै रहेका बेला बुधबार कुटपिट भएको थियो। अस्पतालका डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।