काठमाडौं- बिरामीको विषयलाई लिएर डाक्टरमाथि कुटपिट भएको छ। हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट भएको हो। अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।
गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। तर अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो।
तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्ट माथि शंका लाग्यो र उनीहरुले अन्यत्र लैजाने भनेपछि अस्पतालले पनि २३ साउन अर्थात भोलिपल्ट डिस्चार्ज दियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो ।
सन्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने अवस्थामा पुगेको भन्दै आफन्तहरुले आक्रमण गरेको अस्पतालका कर्मचारीको भनाइ छ।
यता नेपाल चिकित्सक संघले बिरामीको उपचारमा खटिएका चिकित्सकमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको भन्दै भत्र्सना गरेको छ। संघका महासचिव डा सञ्जीव तिवारीले विज्ञप्ती जारी गर्दै घटनामा सम्लग्न माथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी पहिलो संसोधन ऐन २०७९ बमोजिम कानूनी कारवाही गर्न सरकार समक्ष माग गरेका छन्।
संघले दोषीलाई ७२ घण्टा भित्र कानूनी कारबाही नगरे कडा अन्दोलन गर्ने समेत चेतावनी दिएको छ।