काठमाडौं- संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले उनलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताएको छ।
मंगलबार अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्त कुमार दासले विज्ञप्ति जारी गर्दै मंगलबार बिहान १:५० बजे उपचारका लागि अस्पताल ल्याइएकोमा त्यसबेला चिकित्सकहरूबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको बताएका छन्। त्यस बखत नेम्वाङको आँखाको नानी फुलिसकेको र स्थिर रहेको विज्ञप्तिमा बताइएको छ।
अस्पताल पुर्याउँदा रक्तसञ्चार र नाडीको चाल नरहेको अवस्था रहेकोमा त्यसपछि सीपीआर गरिएको उनले बताएका छन्। त्यसपछि ३५ मिनेटसम्म सीपीआर गर्दापनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकोले बिहान ३ बजे उनलाई मृत घोषणा गरेको विज्ञप्तिमार्फत् अस्पतालले जनाएको छ।
मंगलबार बिहान करिब १:३० बजेतिर काठमाडौंको बालुवाटारस्थित निजी निवासमा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा ‘जीवित रहेको कुनै संकेत’ नदेखिए पनि चिकित्सकहरुले मुटुको धड्कन फर्काउने अपेक्षासहित सीपीआर गरेका थिए। सीपीआरबाट मुटुको घड्कन फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
‘हृदयघाटबाट निधन’ भएका नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ।