काठमाडौं– हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलीका लागि नेम्वाङको शव अहिले केहीबेरमा ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको हो।
काठमाडौंको बालुवाटारस्थित निजी निवासमा राति हृदघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
नेम्वाङले स्नातक अध्ययनका क्रममा २०२८ सालमा विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेका थिए। अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए।
२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा नेम्वाङ कम्युनिस्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले)मा सङ्गठित भएका थिए। एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै हाल उनी एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।
२०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेम्वाङ पार्टी संसदीय दलको उपनेता पनि हुन्।
नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधि सभाको सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधान सभाका अध्यक्ष तथा सभामुख थिए।
२०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी ७ महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुनमन्त्री बनेका थिए। उनले सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए।
त्यसैगरी २०३५ सालदेखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका नेम्वाङ वरिष्ठ अधिवक्तासमेत थिए।