काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर आधारभूत अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ।
उपप्रमुख विष्णुमणि नेपालको प्रमुख आतिथ्यतामा स्वास्थ्य शिविर सुरु गरिएको हो। शिविरमा मुटुरोग, अकुपञ्चर, स्त्रीरोग र जनरल परीक्षण सेवा प्रदान भैरहेको छ। दुई दिन शिविर सञ्चालन हुनेछ।
शिविरको शुभारम्भ गर्दै उपप्रमुख नेपालले आधारभूत अस्पतालको सेवा सुविधालाई थप नागरिक मुखी बनाउन आफूहरु लागिरहेको बताए।
‘हाम्रो आधारभूत अस्पतालमा अहिले नै विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन गर्न सकिने अवस्था छैन। तर हामीले विभिन्न संघ संस्थासँगको सहकार्यमा स्वास्थ्य शिविर मार्फत विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेका छौँ। अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने काम पनि भैरहेको छ।’ उपप्रमुख नेपालले भने।
नेपाल सरकारले आधारभूत अस्पतालका लागि तोकेको सेवा र त्यसमा नगरपालिकाले केही थप गरेर नगरबासीका लागि स्वास्थ्य उपचार दिइरहेको उपप्रमुख नेपालले बताए। अस्पताल सञ्चालनमा आएपछि समान्य उपचारका लागि समेत बनेपा, धुलिखेल जानुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाई थियो।
स्वास्थ्य शिविरको संयोजन गरेका नारायणकृष्ण श्रेष्ठले आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य अनुसार शिविर सञ्चालन गरिएको बताए। श्रेष्ठले मण्डनदेउपुर नगरपालिकाको विभिन्न ठाउँमा विगत लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन्।
‘कोभिडका कारण हामीले नियमित गर्दै आएको स्वास्थ्य शिविर रोकिएको थियो। फेरि हामीले आफ्नो कामलाई निरन्तरता दिएका छौँ। पहिले शिविर सञ्चालन गर्न ठाउँको निकै समस्या हुने गरेको थियो। तर अहिले आधारभूत अस्पताल सञ्चालनमा आएपछि निकै सहज भएको छ।’ श्रेष्ठले भने।
वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले शिविरले रोग पहिचानमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। ‘यति जाँच गर्न पनि अन्य अस्पताल जानुपर्यो भने निकै खर्च लाग्छ। तर आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य जाँच गर्न पाउन पनि अवसरको कुरा हो।’ वडा अध्यक्ष पौडेलले भने।
अस्पतालका प्रमुख डा दिल बहादुर थोकरले अस्पतालबाट स्थापनाको एक वर्षे अवधिमा ८ हजारभन्दा बढी नागरिकलाई सेवा प्रदान गरिसकेको बताए। शिविरलाई स्थानीय स्तरमै विशेषज्ञ सेवा प्राप्त गर्ने अवसरका रुपमा लिनुपर्ने डाक्टर थोकरको भनाई थियो।
नगरपालिकासँगको समन्वयमा कर्मा लेक्सी लिग, लक्की थांका, होटल ट्रेडिसन एण्ड एसपीए, हिमालयन शप र स्पोर्ट टुर एण्ड ट्राभल्सले शिविरको आयोजना गरेको हो।