काठमाडौं- वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइराला अब वीर अस्पतालमा भेटिने छन्। प्राडा कोइरालाले गत साउन ९ गतेबाट त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका छन्।
अवाकासपछि प्राडा कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आवद्ध भएका छन्। डा कोइराला न्याम्सको शैक्षिक कार्यक्रममा सहभागी हुने छन् भने न्याम्स अन्तर्गतको वीर अस्पतालबाट उपचार सेवा दिने छन्।
प्राडा कोइरालालाई न्याम्सको भिजिटिङ प्रोफेसरका रुपमा आवद्ध गराइएको न्याम्सका शिक्षाध्यक्ष डा लोचन कार्कीले जानकारी दिए। 'उहाँ अबदेखि न्याम्सको भिजिटिङ प्रोफेसरका रुपमा आवद्ध हुनुभएको छ,' उनले भने, 'उहाँले शैक्षिक कार्यक्रमसहित उपचार सेवा समेत वीर अस्पतालबाट दिनुहुनेछ।' उनका अनुसार डा कोइरालाले वीरमा एक बिरामीको मुटुको शल्यक्रिया समेत गरिसक्नु भएको छ।
प्राडा कोइरालाले पनि आफू न्याम्समा आवद्ध भएको बताए। उनले एक साताअघिदेखि न्याम्समा आवद्ध भएर सेवा दिन सुरु गरेको जानकारी दिए।
'सेवा सुरु गरिसकेको छु। एक जना बिरामीको मुटुको शल्यक्रिया समेत गरिसकें,' उनले भने, 'शल्यक्रिया सहित ओपिडी सेवा पनि नियमित दिनेछु।'
डा कोइराला त्रिवि आइओएम अन्तर्गत शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए। २८ वर्ष त्रिवि अन्तर्गत सेवा दिएका डा कोइरालाले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन्।