काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बढीभन्दा बढी जनता लाभान्वित हुने गरी सरकारी सेवालाई विश्वासिलो बनाउन अघि बढीरहेको जानकारी दिएका छन्।
स्वास्थ्य खबरपत्रिकाको १४औं वार्षिकोत्सव एवं ११औं हेल्थ अवार्ड कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य सेवाको समग्र गुणस्तर, सुशासन, औषधिको उपल्बधतादेखि जनशक्तिको उपलब्धताका विषयमा सरकारले ध्यान दिइरहेको बताएका हुन्।
'स्वास्थ्य सेवाको समग्र गुणस्तर सुशासन औषधिको उपलब्धतादिख जनशक्तिको उपलब्ध जस्ता विषयमा ध्यान दिएर सरकार बढीभन्दा बढी जनतालाई लाभान्वित गरी सरकारी सेवालाई विश्वासिलो बनाउन अघि बढीरहेको जानकारी गराउँदछु' प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्य राजनीतिक प्रतिवद्धता रहेको उल्लेख गर्दै उक्त लक्ष्य पूरा गर्न सरकार प्राथिमकताका साथ लागिरहेको पनि जानकारी दिए।
कार्यक्रममा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय र अन्तराष्ट्रिय व्यक्ति तथा संस्थालाई अवार्ड र सम्मान प्रदान गरिएको छ।
प्रधानमन्त्री दाहालले नेपालको स्वास्थ्य प्रवर्धनमा योगदान दिने स्वास्थ्यकर्मी, जनप्रतिनिधी, अध्येता तथा विभिन्न संघसंस्थाहरुको योगदानको कदर गर्न पाउँदा खुसी लागेको बताउँदै सम्मानित हुने सबैलाई बधाईसहित शुभकामना समेत दिएका छन्।
'स्वास्थ्यखबर हेल्थ अवार्ड २०८० मा सहभागी भएर नेपालको स्वास्थ्य प्रवर्धनमा योगदान दिने स्वास्थ्यकर्मी, जनप्रतिनिधी, अध्येता तथा विभिन्न संघसंस्थाहरुको योगदानको कदर गर्न पाउँदा म अत्यन्तै खुसी छु। सम्मानित सवैलाई हार्दिक बधाई दिन चाहन्छु,' उनले भने, 'हामीले निर्धारण गरेका ‘दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका सवैप्रति धन्यवाद प्रकट गर्दछु। दीगो विकासका परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्न सान्दर्भिक, नविन र उदाहरणीय कार्य, दुर्गम भेगमा कार्यसम्पादन, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी तथा पैरवी गरेका कारण तपाईंहरु अवार्ड तथा सम्मानको हकदार हुनुभएको छ।'
प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धिहरु हासिल गरेको उल्लेख गर्दै सन् २०३० सम्ममा थप उपलब्धि हासिल गर्ने गरी तीन तहकै सरकारबीच समन्वय गरेर अगाडि बढ्ने विषयमा पनि जोड दिए।
'संघीयता अवलम्बन गर्नुभन्दा अगाडि जिल्लामा आधारित स्वास्थ्य प्रणाली थियो। संघीयतापछि स्वास्थ्य सेवाको प्रणाली नै परिवर्तन भएको छ। संघीय सरकार, सात वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौं, साथै तीनै तहको सरकारको जिम्मेवारीमा रहेको स्वास्थ्यलाई प्राथमिकताका साथ समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तको असल अबलम्बन गरि यो क्षेत्रलाइ अगाडी बढाउन हामी लागि परेकै छौं,' उनले भने।
कार्यक्रममा प्रधानमन्त्री दाहालले व्यक्त गरेको धारणाको मुख्य अंश
• सर्वप्रथम स्वास्थ्यखबर हेल्थ अवार्ड २०८० मा सहभागी भएर नेपालको स्वास्थ्य प्रबर्धनमा योगदान दिने स्वास्थ्यकर्मी, जनप्रतिनिधी, अध्येता तथा विभिन्न संघसंस्थाहरुको योगदानको कदर गर्न पाउँदा म अत्यन्तै खुसी छु। सम्मानित सवैलाई हार्दिक बधाई दिन चाहन्छु ।
• हामीले निर्धारण गरेका ‘दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका सवैप्रति आभार प्रकट गर्दछु ।
• दीगो विकासका परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्न सान्दर्भिक, नविन र उदाहरणीय कार्य, दुर्गम भेगमा कार्यसम्पादन, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी तथा पैरवी गरेका कारण तपाईंहरु अवार्ड तथा सम्मानको हकदार हुनुभएको छ ।
• दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिवद्धता पनि हो । लक्ष्यमा पुग्न अझै ७ वर्ष बाँकी छ ।
• दीगो विकासका १७ लक्ष्यहरू मध्ये लक्ष्य ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’ (Good health and well-being) सँग सम्बन्धित छ, जसले ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने’ उद्देश्य लिएको छ । जहाँ मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने, नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागुपदार्थ दुर्व्यसनीको रोकथाम, उपचार र पुनर्स्थापना गर्ने लक्ष्य समेत राखिएको छ ।
• यसबीचमा हामीले स्वास्थ्यमा केही अन्य उपलब्धीहरु हासिल गरेका छौं । तथ्यांकगत रुपमा हेर्दा सुरक्षित रुपमा स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या सन् २००१ को सर्भेमा मा जम्मा ९ प्रतिशतको अबस्थाबाट २०२२ मा ७९ प्रतिशत छ जुन सन् २०२५ को लक्ष्य थियो हामीले २०२२ मै पुरा गर्न सकेका छौं। सन् २०३० यो ७९ प्रतिशतलाई ९० पुर्याउने लक्ष्य लिइएको छ । हामीलाई लाग्छ हामी सकेसम्म त्यो भन्दा माथि जान्छौं र ९० प्रतिशत त जसरी पनि पुरा गर्न सकिन्छ भन्ने नै निष्कर्ष निकालेका छौं।
• बाल स्वास्थ्यमा पनि सुधार भएको देखिएको छ, बिशेष गरि पांच वर्ष मुनिका बाल बलिका को मृत्युदर सन् १९९६ को सर्भेमा प्रति हजार जीवित जन्ममा ११८ मृत्यु हुने गरेको मा अहिले प्रति हजार जीवित जन्मदा ३३ जनाको मात्र मृत्यु हुने अवस्था सम्म पुर्याउन सफल भएका छौं । तर हामीले कायम गरेको सन् २०३० को लक्ष्य चाही प्रति हजार जीवित जन्ममा २० भन्दा कम को मृत्यु हुने अवस्थामा पुर्याउने हो । त्यसरी नै २८ दिन भित्रका नवजात शिशु र जन्मेको १ वर्ष भित्रका शिशुको मृत्यु दर तुलनात्मक रुपमा अझै कम भइसकेको छैन र थप मेहनत को आबश्यकता छ यसलाई बस्तुनिस्ठ अध्ययन गरि आवश्यक कदम हरु चालेर बाल बालिकाको स्वास्थमा थप सुधार तथा बचाउन मिल्ने कारण हरु बाट हुने मृत्यु हरु (preventable deaths) बाट बालबालिका हरुलाइ बचाउन हामीले सबै आवश्यक कदम लिने नै छौ l
• राष्ट्रिय खोप कार्यक्रमको यसमा धेरै योगदान छ । खोप कभरेज पनि बढाउँदै लैजानेछौं र बाल बालिका हरुले तोकिए बमोजिमको खोप सबै प्राप्त गरुन भन्नेमा हामी सचेत छौ । दिगो विकासको लक्ष्यमा समेटिएको एचआइभी एड्स घटाउने विषय लक्ष्य पुरा गर्न सकिने अवस्थामा नै छ । क्षयरोगको महामारी अन्त्य गर्ने कुरामा हामीले केही थप मेहनत गर्नुपर्ने देखिएको छ ।
• संघियता अवलम्बन गर्नुभन्दा अगाडि जिल्लामा आधारित स्वास्थ्य प्रणाली थियो । संघीयतापछि स्वास्थ्य सेवाको प्रणाली नै परिवर्तन भएको छ । संघीय सरकार, सात वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौ, साथै तिनै तहको सरकारको जिम्मेबारी मा रहेको स्वास्थ्यलाइ प्राथमिकताका साथ समन्वय, सहकार्य र सहअस्तित्वको सिध्दान्तको असल अबलम्बन गरि यो क्षेत्रलाइ अगाडी बढाउन हामी लागि परेकै छौं ।
• औषधि उपकरण, जनशक्ति लगायतको व्यवस्थापन गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको एकदमै नजिकको समन्वय, सूचनाको आदनप्रदान र क्षमता विकासका कार्यहरू हुन जरुरी देखिएको छ । सबै तहको सरकारको आ–आफ्नो क्षमता र अधिकार छ । तर स्थानीय सरकारलाई आवश्यक पर्ने सहयोग प्रदेश र संघीय सरकारले गरेरै अगाडि बढ्नुपर्ने अवस्था छ ।
• आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था हामीले संविधानबाटै गरिसकेका छौं र हाम्रा प्रयाश हरु यो व्यस्थाको कार्यन्वयन मा छ । अब स्वास्थ्यमा विपन्न वर्गको पहुँच बढाउनुपर्ने देखिएको छ । स्वास्थ्य सेवा प्रवाह गुणस्तरीय बनाउँदै लैजानुपर्छ । स्वास्थ्य क्षेत्र रणनीतिमा हामीले स्वास्थ्य सेवा को गुणस्तर को बिषयमा यसमा जोड दिएका छौ ।
• २०७६ सालमा हामीले ल्याएकोको राष्ट्रिय स्वास्थ्य नीतिले संघीय संरचना अनुरुप स्वास्थ्य प्रणाली विकास गर्दै जाने, सेवाको गुणस्तर, पहुँच, उपयोग र वृहत सहकार्यको विषयलाई समेटिसकेको छ ।
• हामीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सेवाको उपलब्धतालाई अझै विस्तार गर्नुपर्ने छ । विभिन्न सर्वेहरुले केही कुरामा उपलब्धी भएको देखाउँदै केही विषययमा सरकारले बढी जोड दिनुपर्ने देखाएका छन् । हामीले स्वास्थ्यमा जनशक्ति बढाउँदै लैजानुपर्नेछ । भएको जनशक्तिलाई पलायन हुन नदिन विशेष पहल गर्नुपर्नेछ । सरकार त्यसका लागि लागिपरी नै रहेको छ । हामीले आधारभूत स्वास्थ्यका लागि चाहिने जनशक्ति पुर्याउन निरन्तर कोशिस भइरहेकै छ ।
• मुटु, क्यान्सर, मधुमेह तथा नसर्ने रोगहरुको मृत्युदरको अवस्था पनि बढ्दो क्रममा रहेको देखिएको छ । दिगो विकास लक्ष्य अनुसार मृत्युदर घटाउन हामीले मेहनत भने गर्नुपर्ने देखिन्छ । यसमा बिरामीको पहुँच पनि पुग्ने र गुणस्तरिय सेवा प्रवाह पनि हुनुपर्ने अवस्था देखिन्छ । त्यतातिर सरकारले गम्भीरता पूर्वक सोचिरहेको छ ।
• नसर्ने रोगलाई सम्बोधन गर्ने आवश्यक स्वास्थ्यका पूर्वाधार, मानवसंसाधन र उपकरणको विकास र विस्तार आदिमा हामीले निरन्तर काम गरिरहेका छौं । मानसिक स्वास्थ्यलाई लिएर पनि हामीले विशेष ध्यान दिएर अघि बढ्नपर्ने देखिन्छ । सुर्तिजन्य पदार्थ, मादक पदार्थ नियन्त्रण तथा शारीरिक व्यायामका कुरा, खानापानको कुरामा अहिले विशेष कार्यक्रम गर्न सकिएन भने नसर्ने रोगको चूनौती झन् बढ्दै जाने हामीले बुझेका छौं । त्यसैले स्वास्थ्यमा सरकारको प्राथमिकता बढाउँदै गएको छौं ।
• दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि सुशासन मुख्य कुरा हो । त्यसका लागि सरकारले काम गरिरहेको यहाँहरुले देखिरहनुभएकै छ । स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्न कमजोरी पत्ता लगाउन, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र प्राविधिक नेतृत्व मिलेर काम दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ ।
• सरकारी स्वास्थ्य सेवामा बढी भन्दा बढी जनतालाई लाभान्वित गर्नका लागि सरकारी स्वास्थ्य सेवा विश्वासिलो छ भनेर देखाउने र विश्वास दिलाउने कुरामा हामी अघि बढिरहेका छौं । यसका लागि समग्र गुणस्तर, सुशासन, औषधिको उपलब्धतादेखि जनशक्तिको उपलब्धता सबै कुरामा ध्यान दिएर अघि बढ्नुपर्ने हुन्छ ।
हेरौं भिडियो :