थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला स्वास्थ्य सम्बन्धी केन्द्रीय विशिष्टकृत अस्पताल हो। २०१६ सालमा श्रीकृष्ण जमाष्टमीको दिन यो अस्पताल स्थापना भएको थियो। ६४ औं वार्षिकोत्सव मनाइरहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा कस्ता– कस्ता सेवाहरु सञ्चालित छन्? वार्षिक कति बिरामीले सेवा लिइरहेका छन्? सेवा प्रवाहको अवस्था कस्तो छ लगायतका विषयमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीसँग रिता लम्सालले गरेको कुराकानी :
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ६४ औं वार्षिकोत्सव मनाइरहँदा यस अस्पतालको इतिहासबारे बताइदिनुहोस् न?
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल २०१६ सालमा श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट सुरुवाता भएको थियो। यो अस्पताल परोपकार इन्द्रराज्यलक्ष्मी नामबाट सुरु भएको थियो। यसलाई अस्पताल विकास समिति गठन आदेश ऐन अन्तर्गत २०६४ साल असोज १३ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल भनेर नाम परिवर्तन गरिएको हो।
अस्पतालमा कति शय्या निःशुल्क छन्?
हाम्रो अस्पतालमा स्वीकृत शय्या संख्या ४१५ हो। हामीले अहिले ४८९ बेड राखेर सञ्चालन गरिरहेका छौं। तर अहिले बिरामीको चापका कारण यति बेड पनि पर्याप्त छैन। बिरामीको चाप बढेको हुनाले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वे गरेर ७०० बेड पुर्याउने भनेर स्वास्थ्य मन्त्रालयमा कुरा गरिसकेका छौं। ओएनएम सर्वे अनुसार थप बेड स्वीकृत भएर सञ्चालनमा आएपछि बिरामीले थप सुविधा पाउछन् भन्ने आसा छ।
अहिले हाम्रो अस्पतालमा प्रसूति सम्बन्धी र नवजात शिशुको सबै सेवाहरु निःशुल्क नै छ। त्यसमध्ये पनि गाइनो सम्बन्धी सेवा लिन आउने बिरामीहरु जस्तै पाठेघरसम्बन्धी अन्य समस्याका बिरामीका लागि पनि थप ६५ बेड निःशुल्क गरेका थियौं। अहिले ४५० बेड निःशुल्क छ। बाँकी बेडहरु क्याबिन र आइसीयू गरेर ४८९ बेड सञ्चालित छ। गर्भवती महिला र नवजात शिशु क्याविनमा बस्ने बाहेक सबैका लागि निःशुल्क बेड हो। नवजात शिशुलाई एनआइसीयू नै चाहिने अवस्थामा पनि बेड नि:शुल्क नै छ।
अस्पतालका नयाँ योजना के छन्?
म प्रसूति गृहको निर्देशक भएको तीन महिना हुन लाग्यो। यो तीन महिनाभित्रमा मैले यहाँ एनआइसीयूमा भर्ना हुने बच्चाहरुलाई भेन्टिलेटर तथा एनआइसीयू अपुग हुँदा बाहिर रेफर गर्न नपरोस् भनेर थप १० बेड एनआइसीयू थप गरेको छु। अहिले हाम्रो अस्पतालमा २० बेडको एनआइसीयू सञ्चालनमा ल्याएका छौं। अर्को ओपिडीमा बिरामीको चापलाई व्यवस्थित गर्न सञ्चालित ३ वटा ओपिडी टिकट काउन्टर, तीनवटा विलिङ काउन्टरले अपुग भएको महसुस गरी एउटा ओपिडी काउन्टर, एउटा बिलिङ काउन्टर र एउटा फार्मेसी काउन्टर थप गरेका छौं। बिरामीले टिकट लिन, पैसा तिर्न र औषधि लिन धेरै समय लाइनमा बस्न नपरोस् भनेर यस्तो व्यवस्था गरेका छौं। अहिले औषधि खरिद गर्ने काउन्टर ४ वटा, बिलिङ काउन्टर ४ र ओपिडि कउन्टर ४ वटा बनाएका छौं। अस्पतालमा टिकट लिनकै लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्यका लागि आजैदेखि अनलाइन टिकटको व्यवस्था गरेका छौं।
कुपन्डोलस्थित नवनिर्मित भवन निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको हुनाले अबको ३ महिनामा निर्माण सम्पन्न हुँदैछ। पाठेघरसम्बन्धी समस्या, टेष्ट्युव बेबी, आइफिएफ, परिवार नियोजन र सुरक्षित गर्भपतको सेवालाई कुपन्डोलमा सार्ने योजना रहेको छ। यसका लागि चाहिने थप उपकरण र जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेका छौं। यो वर्ष नै हामीले पुराना भौतिक संरचनालाई भत्काएर त्यहाँ नयाँ भवन बनाउने योजना पनि बनाएका छौँ।
यो बाहेक अस्पतालले हाल कस्ता–कस्ता सेवाहरु दिइरहेको छ?
हाल अस्पतालबाट गर्भवती महिलाको चेकजाँच, पाठेघरसम्बन्धी समस्याको पहिचान र उपचार सेवा दिइरहेको छौं। जसमा पाठेघरको क्यान्सरदेखि सम्पूर्ण पाठेघरको जाँच, नवजात शिशुको ओपिडी सेवा, खोप सेवा, परिवार नियोजन तथा गर्भवतन सेवा, निसन्तान उपचार सेवा प्रदान भइरहेको छ। यो बाहेक विशिष्टकृत सेवामा आइभिएफ सेवा, महिलाहरुमा हुने पिसाब चुहिने समस्याको उपचार, पाठेघरको क्यान्सरको उपचार सेवा लगागत उपलब्ध छ।
अस्पतालमा मिल्क बैंक कसरी चलिरहेको छ? दैनिक कति आमाहरुले दूध दान गर्छन् ? त्यो दूध कति शिशुहरुलाई वितरण भइरहेको छ?
हामीले अस्पतालमा सञ्चालित मिल्क बैंकलाई अहिले अमृत कोष भनेर नामाकरण गरेका छौं। अमृत कोषमा दूध जम्मा गरेर जो शिशुका आमाहरुबाट दूध निकाल्न, वा दिन सक्दैनन्, कुनै रोग वा समस्याका कारण शिशुलाई स्तनपान गराउन सक्दैनन् त्यस्ता शिशुलाई आमाकै दूध उपलब्ध गराउन यो अमृत कोष स्थापना गरिएको हो। हाम्रो अस्पतालमा उपचारत नवजात शिशुलाई फर्मुला मिल्क प्रतिस्थापन गर्न अमृत कोषबाट दूध उपलब्ध गराउछौं। विशेषगरी एनआइसीयुमा भर्ना भएका बच्चा जसलाई आमाको दूध नआएर समस्या छ उनीहरुलाई दाता आमाहरुबाट दूध उपलब्ध गराइरहेका छौं।
दैनिक रुपमा एकदेखि डेढ लिटर दूध संकलन हुन्छ। हामीसँग ७ जना महिला काउन्सिलर हुनुहुन्छ। एनआइसीयू कै छेउमा अमृत कोष राखेका छौं। यो दूधलाई हामीले ६ महिनासम्म पास्चराइज भण्डारण गर्न मिल्ने गरी राख्छौं। कुनै पनि किसिमका रोग नभएका आमाहरुको मात्र दूध संकलन गर्छौं। दैनिक १० देखि २० महिलाहरुको दूध संकलन गर्छौं।
अस्पतालमा सेवाग्राहीको चाप कस्तो छ? ओपिडी, आकस्मिक सेवा लिन अस्पतालमा आउनेको दैनिक संख्या कति छ?
हाम्रो अस्पतालमा दैनिक ओपिडी सेवा लिन आउनेको संख्या ८०० देखि एकहजार सम्म छ। दैनिक आकस्मिक सेवा लिन आउनेको संख्या १२० देखि १५० जनासम्म छ। दैनिक भर्ना हुने बिरामी ८० देखि १०० जना हुन्छन्। दैनिक सुत्केरी गराउनेको संख्या ७० देखि ८० जना छन्।
हाम्रो अस्पतालमा गत आर्थिक वर्ष २०७९/८० मा कुल ३४ हजार १८५ जना महिला भर्ना भएकोमा २६ हजार ९४७ जनाले प्रसूतितर्फ र ५ हजार ४६ जनाले स्त्रीरोग सेवा लिएका थिए। त्यसैगरी नवजात शिशु सघन उपचार तर्फ २ हजार १९२ र मातृ सघन उपचार तर्फ ४८३ जना भर्ना भएर उपचार गराएका थिए। आर्थिक वर्ष २०७९/८० मा प्रसूति तर्फ भर्ना भएका २६ हजार ९४७ मध्ये २४ हजार ६७२ जना गर्भवती महिलाको प्रसूति डेलिभरी भएको थियो। जसबाट २४ हजार ९१५ जना शिशुको जन्म भएको थियो। जसमध्ये ९ हजार ८२१ जनाको शल्यक्रिया अर्थात सिजरियन सेक्सनबाट डेलिभरी भएको थियो। हाम्रो अस्पतालमा शल्यक्रियामार्फत करिब ३८ प्रतिशत र ६२ प्रतिशतको नर्मल डेलिभरी हुन्छ।
देशभरबाट रेफर भएर बिरामी आउँछन् होला। विशेषगरी कस्तो कस्तो केसहरु बढी आउँछन्?
हाम्रो अस्पतालमा विशेषगरी काठमाडौं उपत्यका आसपासका जिल्लाहरुबाट रेफर भएर धेरै बिरामीहरु आउनुहुन्छ। भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, धादिङ, नुवाकोट, लगायतका जिल्लाबाट प्रसूति सेवा गराउन वा सुत्केरी भएपछि हुने जटिलताको उपचारका लागि रेफर भएर आउँछन्। अर्को भनेर राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएका गर्भवती तथा सुत्केरी महिलाहरु रेफरल केस अन्तर्गत आउँछन्। जस अन्तर्गत हामीले गतवर्ष ४९ जना गर्भवती तथा सुत्केरी महिलालाई सेवा दिएका छौं। हाम्रो अस्पतालबाट कुनै पनि प्रसूति सेवा लिन आउने महिलाहरुलाई रेफर गर्दैनौं। हाम्रो अस्पतालमा नभएको सेवा जस्तै मुटुसम्बन्धी रोग वा फोक्सोसम्बन्धी अन्य विशिष्टकृत सेवा समेत चाहिने महिला बाहेक सबैलाई यही उपचारको व्यवस्था गर्छौं। कुनै पनि गर्भवती महिलाले सुत्केरी गराउन बाहिर पठाउँदैनौ।
अस्पतालमा आउने सेवाग्राहीले सेवा पाउन कति समय लाइनमा बस्नुपर्ने हुन्छ? यसको व्यवस्थापनका लागि तपाईंको योजना के छ?
हाम्रो अस्पतालमा सेवा लिन दैनिक रुपमा ओपिडीमा आउने बिरामीलाई कोटा तोकेका छैनौं। जसले गर्दा जति बिरामी आएपनि उनीहरुले उपचार सेवा पाउँछन्। बिरामीहरु दैनिक ८ सय देखि १२ सयसम्म हुँदा सेवा लिन करिब ३ घण्टा कुर्नुपर्ने अवस्था हुन्छ। अहिलेकाँकी धेरै बिरामी हुँदा त्यो भन्दा बढी पनि समय लाग्नसक्छ। यस्तै आकस्मिक सेवामा ट्रायज सेवा विस्तार गरेका छौं। बिरामीको अवस्था अनुसार हामीले प्राथमिकता पनि निर्धारण गरेका छौं। जस्तो बच्चा कम चलेका, प्रेसर बढेको, पहिला अप्रेसन गरेका बिरामीलाई आकस्मिकमा पनि पहिलो प्राथमिकता दिने गरेका छौं। यस्तो बिरामीलाई आधा घण्टाभित्र नै जाँच गरेर उहाँहरुको अवस्था पत्ता लगाएर सोही अनुसार उपचार गर्छौं। पैसा तिर्न सक्नेहरुका लागि लक्षित गरेर थप शुल्क लिएर ३ बजेपनि विस्तारित सेवा पनि सञ्चालन गरेका छौं।
अस्पतालमा जनशक्तिको अवस्था कस्तो छ?
अहिले जनशक्तिको अवस्था भन्नुपर्दा विकास समिति अन्तर्गत २२१ जना स्थायी दरबन्दीमा छन्। यस्तै ६८ जना नेपाल सरकारको दरबन्दी अन्तर्गत गरी २८० जनाको स्थायी दरबन्दी छ। त्यो बाहेक ५०० दरबन्दी करार र ठेक्का अन्तर्गत छन्। स्थायी दरबन्दी थप गर्न नियमावली संसोधन गरी प्रक्रिया अघि बढिसकेको छ। थप दरबन्दी कायम गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिरहेका छौं।
अस्पतालमा कस्ताकस्ता समस्या छन्। यसको समाधानका लागि निर्देशकको हैसियतले तपाईंको प्रयास के छ?
अस्पतालमा भौतिक संरचना पुरानो हुँदा केही समस्याहरु छन्। पुरानो संरचनामा पानी बग्ने लगायतका समस्याहरु छन्। यसका लागि पुरानो संरचना भत्काएर नयाँ बनाउन सकियो भने बिरामीलाई धेरै सहज हुनेछ। अर्को समस्या भनेको जनशक्तिको हो। अहिले स्वास्थ्य मन्त्रालयमा रोकिएर बसेको ओएनएम सर्भे स्वीकृत भयो भने सरकारी प्रक्रिया अनुसार जनशक्ति थपिन्छन्। जसले गर्दा सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सहज हुनेछ।