काठमाडौं- लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको निधन भएको छ। नवलपुरको देवचुली– १७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए।
चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए। परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए।
उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो।
जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाँईले बताए। देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए।