काठमाडौं– आइतबार बिहान छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। यस्तै ९ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ७ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा ३ ख ४८४८ नम्बरको यात्रुवाहक बस र विपरित दिशाबाट आउँदै गरेको बा ६ च ५३४२ नम्बरको बोलेरो जिप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
यसैगरी बस पल्टिएर बसले कुल्चिदा बागमती प्रदेश ०२ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमासमेत क्षति पुगेको छ।
जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्। मृत्यु हुनेमा सर्लाहीको शान्तिटोल–१ का २१ वर्षीय राज भट्टराई रहेको खुलेको छ।
स्कुटरमा सवार महिला सशस्त्र प्रहरी कर्मचारी रहेको र स्कुटर चालक सामान्य घाइते भएको र पछाडी सवार एक जना गम्भीर घाइते भएको सहायक निरीक्षक रविचन्द्र पुडासैनीले बताए।
बोलेरोमा सवार ५ जना विद्युत्का कर्मचारी रहेको प्रहरीले जनाएको छ। उनीहरुको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ। अन्यको मिनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। बिहान केही समय अवरुद्ध सडक अहिले सुचारु भइसकेको छ।