काठमाडौं– चिकित्सा शिक्षा आयोगले नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण गरि सर्वाजनिक गरेको छ।
आयोगले बिहीबार आफ्नो वेवसाइट मार्फत नेपालमा स्वास्थ्य जनशक्तिको अवस्था र प्रक्षेपण सार्वजनिक गरेको हो।
जसमा नेपालमा चिकित्सा शिक्षाको विकास, नेपालमा स्वास्थ्य जनशक्तिको अवस्था प्रक्षेपण तथा जनशक्ति विकास योजनाको सैद्धान्तिक अवधारणा तथा सन् २०३० सम्म स्वास्थय जनशक्तिको प्रक्षेपण आकलन गरिएको छ।
आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले यो प्रक्षेपणले विशिष्टीकृत जनशक्तिको आवश्यकता पहिचान र उत्पादन गर्ने योजना तयार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
आयोगले हाल नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका मेडिकल चिकित्सक २७ हजार ८०५ जना छन् भने दन्त चिकित्सक ४ हजार ४१३ जना रहेको प्रक्षेपणमा उल्लेख गरेको छ।
यस्तै नर्सिङतर्फ विशेषज्ञ नर्स १ हजार ३२६ जना, नर्स ७३ हजार ८८९, मिडवाइफ ५१ र अनमी ३७ हजार १८३ जना नर्सिङ काउन्सिलमा दर्ता भएको जनाइएको छ।
यस्तै नेपाल आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या ५ हजार ६१५ रहेको आयोगले जनाएको छ। यस्तै हाल सरकारी सेवामा डाक्टर ६ हजार १३८ जना, नर्स तथा अनमी २७ हजार ६८३, कविराज ६७४, वैद्य ६९३ र स्वास्थ्य सहायक १५ हजार ८९६ जना जनशक्ति रहेको आयोगले जनाएको छ।
सो संख्या आर्थिक सर्वेक्षण २०७९ नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण २०७९/२०८७ अनुसार रहेको अयोगले जनाएको छ।
नेपालमा हाल उपलब्ध स्वास्थ्य जनशक्ति देशको लागि अपुग रहेको उत्पादन भएका जनशक्तिलाई देशमा टिकाउन नसकेको, चिकित्सा शिक्षासम्बन्धी विषय अध्ययनका लागि विदेश जानुपरेको जस्ता विषय राखी विभिन्न समूहले धर्ना तथा विरोध गरेको भन्दै आयोगले उक्त कार्य भ्रम फैलाउने कार्य भएको जनाएको छ।
आयोगले प्रकाशित गरेको प्रक्षेपणमा आगामी आर्थिक वर्ष २०८७/८८ सम्ममा नेपालमा ३ लाख १ हजार ८९५ स्वास्थ्य जनशक्ति आवश्यकता पर्ने अनुमान गरेको छ।
जसमा जनरल मेडिकल प्राक्टिसनरहरु एमबीबीएस तथा बिडएसमा स्नातक गरेका १६ हजार ७८४ जनशक्ति आवश्यक पर्ने आकलन गरेको छ।
यस्तै एमडी, कन्सल्ट्यान्टहरु विशेषज्ञ मेडिकल प्राक्टिसनरहरु १५ हजार २९३ जना आवश्यक पर्ने उल्लेख गरिएको छ। यस्तै नर्सिङमा स्नातकोत्तर तह गरेका ४११, स्नातक गरेका २ हजार ३५९, नर्सिङ तथा प्रसूति सेवा सम्बन्धि अधिकृतहरु ८८ हजार २४, परम्परागत तथा वैकल्पिक चिकित्सा प्रदान गर्ने स्नातक तथा स्नातकोत्तर गरेका २ हजार ८३, प्रमाणपत्र तह अध्ययन गरेका परम्परागत तथा सहाय चिकित्सा प्राविधिकहरु २ हजार ११८, अन्य स्वास्थ्य सम्वद्ध पेशामा स्नातकोत्तर तह अध्ययन गरेका २ हजार ६८८, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेशामा स्नातक गरेका २३ हजार १५०, अन्य स्वास्थ्य सम्बद्ध सहायक पेशामा प्रमाणप तह अध्ययन गरेका १ लाख ४ हजार ३९ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
आयोगले अगामी दिनमा आवश्यक पर्ने जनशक्ति र हालको उत्पादनको अवस्था तुलना समेत गरेको छ। जसअनुसार हाल उत्पादित कुल स्वास्थ्य जनशक्ति २ लाख ५६ हजार ५९७ रहेको र कार्यरत २ लाख ११ हजार ९७७ रहेको छ। जनशक्ति उत्पादन र आवश्यकता लाई हेर्दा ६३ हजार २२६ जनशक्तिको अन्तर रहेको आयोगले उल्लेख गरेको छ।