काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा इमान्दार छवि र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उम्मेदवारलाई छनोट गर्न सुझाव दिएका छन्।
डा केसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास लिएको बताएका छन्।
'चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ। उक्त प्रक्रियामार्फत सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास हामीले लिएका छौं,' डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उमेदवारहरुको सम्पूर्ण पृष्ठभुमि बुझेर आवेदन दिएकामध्ये इमान्दार छवि, र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवारहरु मात्रै छनोट गर्न र तिनमध्येबाट उपाध्यक्षको नियुक्ति गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं।'
डा केसीले उपाध्यक्षका लागि आवेदन दिएका केही उम्मेदवारहरु गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित भएका तथा स्वार्थको द्वन्द्व हुने व्यक्तिहरु रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवार छनोट गर्न सुझाव दिएका छन्।
डा केसीले यसअघि सरकारले माग पूरा गर्न प्रतिवद्धता व्यक्त गरेका कारण साउन २९ देखिको अनसन स्थगन गरेको स्मरण गराउँदै माग पूरा नभए भदौ २९ गतेबाट अनसन सुरु गर्ने जानकारी पनि विज्ञप्ति मार्फत दिएका छन्।
हेरौं डा केसीको विज्ञप्ति
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि हाल चिकित्सा शिक्षा ऐनबमोजिमको प्रक्रिया चलिरहेको छ । उक्त प्रक्रियामार्फत सिफारिस समितिले योग्यतम उमेदवारहरुलाई छनोट गर्ने विश्वास हामीले लिएका छौं ।
यसबीच केही गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित भएका तथा स्वार्थको द्वन्द्व हुने व्यक्तिहरुले समेत उमेदवारी दिएको देखिन्छ । त्यसबाट निजी मेडिकल कलेजका सञ्चालकहरु तथा अन्य स्वार्थ समुहहरुले आयोगलाई निशाना बनाएको देखिन्छ ।
चिकित्सा शिक्षा आयोग स्थापनापछिको पहिलो चार वर्षे अवधिमा अनेक खाले राजनीतिक हस्तक्षेप, पदाधिकारीहरुमाथिको आपराधिक गुण्डागर्दी र अवरोधका बाबजुद आयोगले चिकित्सा शिक्षा सुधारमा उल्लेख्य काम गर्न तथा आयोगको स्वायत्तता कायम राख्न सफल भएको छ । अब आएर भ्रष्ट वा स्वार्थको द्वन्द्व हुने व्यक्ति उपाध्यक्ष बनेमा ती सबै उपलब्धि उल्टिने जोखिम छ । त्यस्ता उमेदवार पदाधिकारीका रुपमा छानिएमा त्यसले चिकित्सा शिक्षा ऐनको परिकल्पना विपरीत नेपालको मेडिकल शिक्षालाई गुणस्तरहीन र धराशायी बनाउने जोखिम रहेको छ ।
त्यसैले त्यस्ता उमेदवारहरुको सम्पूर्ण पृष्ठभुमि बुझेर आवेदन दिएकामध्ये इमान्दार छवि, र अब्बल कार्यक्षमता भएका तथा कुनै स्वार्थको द्वन्द्व नभएका योग्यतम उमेदवारहरु मात्रै छनोट गर्न र तिनमध्येबाट उपाध्यक्षको नियुक्ति गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं । साथै हामीले विभिन्न मागहरु राखेर यही साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेका थियौं । ती प्रतिबद्धताहरु कार्यान्वयन नभएमा सही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं ।
डा गोविन्द केसी
२०८० भदौ १५