काठमाडौं- मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमन्त्री मोहन बस्नेतको इजिप्ट भ्रमण स्वीकृत गरेको छ।
इजिप्टको राजधानी कायरोमा आयोजना हुने ‘जनसङ्ख्या स्वास्थ्य र विकासमा ग्लोबल कंग्रेस’ विषयक सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृत प्रदान गरेको हो।
मन्त्रिपरिषद्ले नेपाल र गणतन्त्र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानीबाहेकलाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारले भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय, नेपालगञ्ज बाँकेको कार्यक्षेत्रमा राप्ती सोनारी गाउँपालिका वडा ३, ४, ५, ६ र ७ थप गर्ने निर्णय गरेको छ।
बैठकले साँगु खोला जलविद्युत् आयोजना निर्माणका लागि दोलखा जिल्लाको विगु गाउँपालिकामा अवस्थित राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने तथा साँगु खोला १ जलविद्युत् आयोजनाको विभिन्न संरचनाको विकास निर्माणका लागि गौरीशङ्कर संरक्षण क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।
अरुण ३ जलविद्युत् परियोजना निर्माणका क्रममा उत्पादन हुने वेष्ट म्याट डिस्पोजलका लागि डम्पिङ क्षेत्र क्वेरी साइटको संरचना निर्माण गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ।
सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा दिनेशकुमार घिमिरेलाई बढुवा र विपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्राहलय विकास समितिको कार्यकारी निर्देशक पदमा डा सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।