काठमाडौं– नेपाली विशेषज्ञ चिकित्सकलाई रोजगारीको लागि कुवेतमा माग भएको भन्दै आवेदन खुला गरेको म्यानपावर कम्पनीलाई वैदेशिक रोगजार विभागले निलम्बन गरेको छ।
सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा इन्टरनेसनल प्रालि र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले निलम्बन गरेको हो।
ओमेगाले विभागको पूर्वस्वीकृति बिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेल पठाइदिने भनी भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागको ठहर छ।
यस्तै एउटै व्यक्तिको अर्को संस्था अक्जोनले पनि एजुकेसनल इन्स्टीच्युट एण्ड कन्सलटेन्सी वर्किङ भिसाको प्रलोभन देखाइ शंकास्पद कारोबार गरी व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने गरेको विभागले जनाएको छ।
विभागले यी कम्पनीहरुको कार्य शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न तत्काललाई दुवै कम्पनीलाई निलम्बन गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए।
‘नेपाली डाक्टरलाई रोजगारीका लागि कुवेत पठाउने भन्दै विज्ञापन गरेको कम्पनीले पूर्व श्रमस्वीकृति लिएको थिएन, यसको विषयमा थप अनुसन्धान भइरहेको छ,’उनले भने, ‘अनुसन्धानको दायरामा रहेकाले सो कम्पनीले कुनै गतिविधि गर्न नपाउने गरि निलम्बल गरिएको हो।’
कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको भन्दै फेसबुल पेज मार्फत सूचना निकालेको थियो।
ओमेगाले सार्वजनिक गरेको सूचनामा कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको थियो।
एनेस्थेसिया डाक्टर १०० जना, आईसीयु कार्डियाक डाक्टर २२५ जना, पेडियाट्रिक डाक्टर १२५ जना, फिजिसियन डाक्टर (इमर्जेन्सी) २०० जना, अब्स्ट्याक्ट तथा गाइनोकोलोजिष्ट डाक्टर १०० जना, अर्थोपेडिक्स डाक्टर १०० जना र रेडियोलोजिष्ट डाक्टर १२५ जना माग गरेको सूचनामा उल्लेख थियो।
विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने र उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने भन्दै सूचना आमेगाले जारी गरेको थियो।
कुवेतको उक्त अस्पतालले सुरुको महिना खाना र बस्ने व्यवस्था समेत गरेका र तर दोस्रो महिनाबाट भने खानाको व्यवस्था चिकित्सक आफैंले गर्नुपर्ने भनिएको थियो।
यो पनि: श्रम स्वीकृति नै नलिइ ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन, वैदेशिक रोजगार विभागले मार्यो छापा